४ फरवरीः भारतका पूर्व ब्याटिंग प्रशिक्षक सञ्जय बांगड़ले बताएअनुसार, रोहित शर्मा ९ फरवरीदेखि अष्ट्रेलिया विरुद्ध शुरु भइरहेको बोर्डर-गावस्कर टेस्ट सीरीजमा कप्तानको रूपमा अघि रहेर टीमको अगुवाई गर्न इच्छुक हुनेछन्। विशेषगरी अतीतमा केही हाई-प्रोफाईल टेस्ट मिस गरेपछि। रोहितले टेस्ट म्याचहरूमा अष्ट्रेलिया विरुद्ध पहिलोपल्ट कप्तानी गर्नेछन्। भारत र अष्ट्रेलियाबीच ९ फरवरीदेखि चारवटा टेस्ट म्याचको सीरीज शुरु हुनेछ। पहिलो टेस्ट म्याच नागपुरमा खेलिनेछ। तीनैवटा प्रारूपमा पूर्णकालिक कप्तानी हासिल गरेपछि रोहितले केवल २ वटा टेस्ट म्याच खेलेका छन् अनि चोटले गर्दा ३ वटा टेस्ट म्याच खेल्नदेखि चुकेका छन्।
साल २०२१-मा रोहितले ईंग्ल्याण्ड विरुद्ध असाधारण प्रदर्शन गर्दै ४ वटा टेस्ट म्याचमा ३४५ रन बनाएका थिए। यसमा एउटा शतक अनि एउटा अर्द्धशतक सामेल छ। बांगड़ले भने, यो रोहितको निम्ति कप्तानको रूपमा ठूलो सीरीज हुनेछ। उनी आफ्नो करियरको शीर्षमा हुँदा २०१५-देखि २०१८-सम्म दुर्भाग्यवश चोटले गर्दा धेरैवटा टेस्ट म्याच खेल्नदेखि चुकेका थिए। साल २०१८-मा पनि लयमा रहँदा उनी चोटले गर्दा टेस्ट म्याचहरूबाट बाहिर भएका थिए। उनले एकजना ओपनिंग ब्याटरको रूपमा ईंग्ल्याण्डको चुनौतीपूर्ण परिस्थितिहरूमा ब्याटिंग गर्ने चुनौतीमाथि अगावै मानसिक जीत हासिल गरिसकेका छन्। भारतमा पनि ईंग्ल्याण्ड विरुद्ध उनले असल प्रदर्शन गरेका थिए। यसपाली उनी निश्चित रूपले त्यही फर्मलाई दोहोऱ्याउन चाहन्छन्। अष्ट्रेलिया टीम विरुद्ध एकजना कप्तानको निम्ति असल प्रदर्शन गर्ने उनीसँग सुनौलो मौका रहन्छ। यसको साथमा बांगड़ले स्पिनरहरू विरुद्ध खेल्नको निम्ति रोहितलाई पेस आक्रमण विरुद्ध सतर्क भएर खेल्ने परामर्श पनि दिए। अष्ट्रेलिया एउटा शक्तिशाली पेस आक्रमणको साथ भारत आएको छ, जसमा प्याट कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्क जस्ता दिग्गजहरू रहेका छन्। यसको साथमा टीममा चारजना दिग्गज स्पिनर पनि रहेका छन्। यसमा न्याथन लायन, लेग स्पिनर मिचेल स्वेपसन, देब्रे हातका स्पिनर एश्टन एगर र युवा खेलाड़ी टड मर्फी सामेल छन्।









