खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको क्रिकेट टुर्नामेन्टमा मित्र संघ गोलाई पाखा तीनधारे र सिविटार बिजय भएर क्वाटर फाइनलमा प्रवेस गरेको छ। गत २ फरवरीदेखि तीनधारेको मामु ईलेभेनको आयोजनामा भईरहेको ईन्टर तीनधारे क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको पहिलो खेल मित्र संघ गोलाई पाखा र गैरी गाउँमाझ सम्पन्न भएको थियो। उक्त खेलमा गोलाई पाखाले पहिला व्याटिङ गर्दै निर्धारित १५ ओभरमा ११३ रन बनाएको थियो भने गैरी गाउँले केवल १०२ रन मात्र बनाएर खेल हारेको थियो। यस खेलमा ३८ बलमा ४९ रन बनाउने गोलाई पाखाको निश्चल प्रधान म्यान अफ् द म्याच चयन भएका छन्। आज भएको दोस्रो खेलमा सिविटारले दुई नम्बर बस्तीलाई 5 विकेटले पराजित गरी क्वाटर फाईनलमा प्रवेस गरेका छन्। टस जितेर पहिला बलिङ गर्दै सिविटारले ८ ओभरमा ४६ रन दिएर सबै विकेट लिएका थिए। सिविटारको पक्षमा प्रवेक छेत्रीले सर्वाधिक ४ विकेट र दिनेश सेवाले २ विकेट लिएका थिए। दुई नम्बर बस्तीले दिएको ४७ रनको लक्ष्यलाई सिविटारले १० ओभरमा हाँसिल गरेका थिए। सिविटारको पक्षमा रवि प्रधानले सर्वाधिक २६ रन बनाएको थियो। यस खेलमा २ ओभरमा ४ विकेट लिने सिविटारको प्रवेक छेत्री म्यान अफ् द म्याच चयन भएका छन्।
आजको खेल विषयमा आयोजक समितिको पक्षमा सञ्जय पोर्तेलले जानकारी गराउँदै भने, गत २ फरवरीदेखि शुरु इन्टर तीनधारे क्रिकेट टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरू आएको छ भने आज दुइवटा खेल सम्पन्न भएको छ। पहिलो खेलमा मित्र संघ गोलाई पाखाले र दोस्रो खेलमा सिविटारले आफ्नो आफ्नो खेल जितेर क्वाटर फाइनलमा प्रवेस गरेको छ। यस टुर्नामेन्टको फाइनल खेल आगामी १२ फरवरीको दिन सम्पन्न हुनेछ। त्यसरी नै आयोजक समितिको पक्षमा बिमल दर्जीले युवाहरूलाई क्रिकेटमा रूची बढाउन र खेलप्रति आकर्षित गराउन यो क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको जानकारी गराएका छन्।









