गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले राज्यमा बालविवाह अन्त्य गर्न सरकार दृढ संकल्पमा रहेको बताएका छन्। असम पुलिसले हालसम्म राज्यभर ४ हराज ४ वटा मुद्दा दायर गरेको छ। असममा बालविवाहको मुद्दाले हलचल मच्चिएको छ। असम पुलिसले बालविवाहविरुद्धको अभियानअन्तर्गत अहिलेसम्म २२११ जनालाई पक्राउ गरेको समाचार छ। पक्रा पर्नेमा यस्ता विवाह गराउने पण्डित र मौलवी पनि परेका छन्। आठ हजार अभियुक्तको सूची रहेको र यो अभियान जारी रहने पुलिसको भनाइ छ। यसैबीच महिलाहरूले पनि आफ्नो अगाडि जीविकोपार्जनको समस्या हुने भन्दै विभिन्न जिल्लामा पक्रा परेको भन्दै विरोध प्रदर्शन गरेका छन्।
असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले भने, ‘हालसम्म असममा बालविवाहसँग सम्बन्धित ४ हजार ७४ मुद्दा दर्ता भएका छन् भने ८१३४ जना अभियुक्तको रूपमा पहिचान भएका छन्। आज बिहानसम्म २ हजार २ सय ११ जना पक्रा परेका छन्। बालविवाहविरुद्धको कारबाही जारी रहनेछ। हामीले करिब ३५०० जनालाई पक्राउ गर्नुपर्नेछl’ उनले अझ भने, ‘शुक्रबार बिहानैदेखि राज्यभर अभियान शुरु भएको र यो आउँदो तीन–चार दिनसम्म जारी रहनेछ। राज्य मन्त्री परिषद्को गत २३ जनवरीमा बालविवाह गर्नेलाई पक्राउ गर्ने र व्यापक सचेतना अभियान पनि सञ्चालन गर्ने निर्णय भएको थियो यो घोषणा भएको १५ दिनभन्दा कम अवधिमा पुलिसले बालविवाहका ४००४ मुद्दा दायर गरेको छl’
पुलिस महानिर्देशक जीपी सिंहले भने, ‘हामीसँग ८ हजार नाम रहेको नामित अभियुक्तको सूची छ र अहिलेसम्म २ हजार २ सय ११ जना मात्रै पक्रा परेका छन्l बालविवाहविरुद्धको अभियान आउँदो तीन चार दिनसम्म जारी रहनेछ। शुक्रबार साँझसम्म सबैभन्दा बढी विश्वनाथ जिल्लामा १३७, धुब्रीमा १२६, बक्सामा १२०, बारपेटामा ११४ र कोक्राझारमा ९६ जना पक्रा परेका छन्l’
राज्यको मन्त्री परिषदले भर्खरै १४ वर्ष मुनिका बालिकासँग विवाह गर्नेलाई यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो-प्रोटेक्सन अफ् चिल्ड्रेन फर्म सेक्सुअल अफेन्सेस एक्ट-२०१२) ऐनअन्तर्गत र १४–१८ वर्षका केटीसँग विवाह गर्नेलाई बालविवाह रोकथाम अधिनियम २००६ अन्तर्गत बाल यौन दुराचारको मुद्दा चलाउने निर्णय गरेको छ। त्यस्ता आरोपित व्यक्तिहरूलाई पक्राउ गरी विवाह अवैध घोषित गरिनेछ। बालकको उमेर पनि १४ वर्षभन्दा कम भएमा बालकलाई अदालतमा पेश गर्न नसकिने भएका हुनाले सुधार गृहमा पठाइनेछ। मुख्यमन्त्री सरमाले राज्यव्यापी पुलिस कारबाहीमा पुलिस महानिर्देशक जीपी सिंहको उपस्थितिमा सबै पुलिस उपरीक्षक (एसपी)सँग डिजिटल बैठकको अध्यक्षता गरे। उनले यो विकृतिबाट मुक्ति पाउन सर्वसाधारणलाई साथ र सहयोगको लागि अपिल गरेका छन्।
यसैबीच, पति र छोरालाई पक्राउ गरेको विरोधमा महिलाहरू ठूलो सङ्ख्यामा सडकमा उत्रिएका छन्। मजुलीका ५५ वर्षीया निरोदा डोलेले भनिन्, ‘पुरुष मात्रै किन पक्रा पर्छन्? हामी र हाम्रा छोराछोरी कसरी बाँच्ने? हामीसँग आयको साधन छैन। भर्खरै दर्ता भएका चार हजार भन्दा बढी बालविवाहका घटनामध्ये सबैभन्दा बढी धुब्रीमा ३७० वटा छन्। यसपछि होजई २५५, उदलगुरी २३५, मोरिगाउँ २२४ र कोकराझार २०४ मा यस्ता मुद्दा दर्ता भएका छन्। बराक उपत्यकाको हाइलाकाण्डी जिल्लामा बालविवाहको एउटा मात्र मुद्दा दर्ता भएको छ भने दिमा हासाओमा २४ र काछारमा ३५ मुद्दा दायर गरिएको छ।










