गान्तोक। मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिए आनुसार सिक्किम सरकारले सुप्रीम कोर्टमा पुनरावलोकन याचिका दर्ता गरेको छ।
मुख्यमन्त्रीले आफु स्वयं पनि दिल्ली गइरहेको र देशका केही उच्च कानून अधिकारीहरू लिएर केन्द्रिय कानून मन्त्री किरेन रिजिजुसॅंग भेट गर्ने जानकारी गराएका छन्। उनले यस मुद्दालाई पूर्ण गम्भीरताका साथ लिइएको बताउॅंदै सिक्किमेहरूको अधिकार र गरिमालाई बचाइराख्न आफ्नो तर्फबाट हर सम्भव काम गर्ने आश्वासन पनि दिएका छन्।
मुख्यमन्त्रीले गत १३ जनवरी, २०२३ मा सुप्रीम कोर्टले सुनाएको फसेलामा केही टिप्पणीहरूको सम्बन्धमा सिक्किमे जनताका शिकायत र भावनाहरूलाई उपयुक्त रूपमा सम्बोधन गर्नका लागि सिक्किम सरकारले पुनरावलोकन याचिका दर्ता गरेको जानकारी गराएका छन्। सिक्किमको अतिरिक्त महाधिवक्ता र सरकारका कानून सचिवले दिल्लीमा विशेषज्ञहरूसॅंग यस मुद्दालाई सम्हालिरहेको बताएका छन्।