गान्तोक: सिक्किम सरकारको स्वास्थ्य एवं परिवार कल्याण तथा सूचना एवं प्रौद्योगिकी विभाग मन्त्री डा. एमके शर्माले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि सिक्किममा हलचल नै मचिएको छ। उनले वर्तमान सरकारमाथि सिक्किमेहरूको अधिकारसित सम्बन्धित मामिलामा गम्भीर नरहेको आरोप लगाउॅंदै राजीनामा दिएका छन्।
मन्त्री शर्माले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आज लेखेको राजीनामा पत्रमा गत १३ जनवरीको दिन सुप्रीम कोर्टमा आएको फसेलालाई ध्यानमा राख्दै राजीनामा दिइरहेको बताएका छन्। उनले राज्य सरकारमाथि सिक्किमे जनताको भावनालाई गम्भीरसॅंग नलिएको आरोप लगाएका छन्। उनले अब मन्त्री परिषदमा बस्नु आवश्यक नरहेको महसूस भएपछि राजीनामा दिइरहेको बताएका छन्।
स्मरण रहोस्, सिक्किमका ओल्ड सेटलर्सलाई आयकर छुट मामिलामा सुप्रीम कोर्टमा आएको फसेलापछि सिक्किमव्यापी रूपमा प्रतिवाद शुरू भएको छ। फसेलाको अवलोकन भागमा एकातिर सिक्किमे नेपाली समुदायलाई विदेशी भनेर टिप्पणी गरिएको छ भने विशिष्ट पहिचान बोकेको शब्द सिक्किमे-माथि पनि प्रहार भएको छ।