मङ्पु: आज मङपु सिन्कोना निर्देशालयले एउटा कार्यक्रमको आयोजना गरेर नेपालको काठमाडौमा भर्खरै मात्र आयोजित भजन गायन प्रतियोगिता “प्रणामी सिङगिङ आईकन” को खिताब जितेर आएकी मङपुका छोरी गायिका सिमरण गरिमा गुरुङलाई संवर्द्धना जनायो। सिन्कोना निर्देशक डा. सामुएल राईले सिमरण गरिमा गुरुङलाई जितको लागि बधाई एवम् शुभकामना दिए। आगामी दिनमा संगीत क्षेत्रमा अझ उत्तरोत्तर प्रगतिको कामना गर्नको साथै मङपु सिन्कोना बगानको नाम रोशन गर्ने आशीर्वाद दिँदै खदा लगाईदिएर संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाए। यसैगरी, सिन्कोना बगानका व्यवस्थापक गोपाल लामीछाने, बोटानिस्ट लिना सुब्बा अनि युडेन ओङमु योञ्जन साथै सिन्कोना निर्देशालयका कर्मचारीहरुले गायिका गरिमालाई खदा लगाइ दिएर सम्मान जनाए। अर्कोतिर, गायिका गरिमाले आफुलाई सिन्कोना निर्देशालयबाट यसरी संवर्द्धना जनाएकोमा हर्ष प्रकट गर्दै सिन्कोना निर्देशक लगायत सम्पूर्ण कर्मचारीलाई आभार व्यक्त गरेकी छन्।