गान्तोक। सिक्किमको राजधानी गान्तोक अन्तर्गत नगर पालिका क्षेत्रका कतिपय ठाउँहरूमा सोमवारदेखि निजी वाहनहरूको आवागमनमा अड-इभन फर्मूला लागू भएको छ। राज्य यातायात विभागले यो निर्णय जन सुरक्षा अनि सुविधा तथा राम्रो ट्राफिक व्यवस्थापनका लागि भनेर लिएको कुरा एउटा अधिसूचनामा जनाएको छ।
अधिवक्ता नवीन किरण प्रधानले विभागको उक्त निर्णयको विरोध गरेका छन्। राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उनले यो नियम भेदभावपूर्ण रहेको आरोप लगाएका छन्। यो नियम यदि ठूला-साना सबै वर्गका मानिसहरूमाथि समानरूपमा लागू भएको भए स्वागत गर्न सकिने थियो, तर यसमा कसैलाई काख र कसैलाई पाख गरिएको बताए। उनले यो नियम राज्यका मुख्यमन्त्री र मुख्य सचिवदेखि लिएर साधारण मानिसहरूसम्म समानरूपमा लागू गरिनुपर्छ भनी बताए।
अर्कोतिर, उनले आज अड-इभन फर्मूला लागू भएपछि केही हदसम्म ट्राफिक समस्या कम देखिए तापनि यो समाधान भने नरहेको बताए। उनले राजधानीमा ट्राफिक समस्या दिनदिनै बढ्दै गइरहेको छ भने यसलाई समाधान गर्न ठोस कदम उठाउनु पर्छ भनी बताए। उनले रानीपुलदेखि राजधानीसम्म जहॉं-जहॉं सम्भव छ त्यहॉं बाटो बढ़ाउने काम गर्नुपर्छ, वैकल्पिक मार्ग सुदृढ़ बनाउनु पर्छ आदि जस्ता सुझाउहरू पनि दिएका थिए।