गान्तोक। सिक्किमका खेलाड़ीहरूले हरियाणामा आयोजित ‘११औं बेञ्चप्रेस एण्ड डेडलिफ्ट पावरलिफ्टिङ च्याम्पियनशिप’ मा उत्कृष्ट प्रदर्शन गरेका छन्। गत २८ र २९ मईको दिन सोनीपतमा आयोजित उक्त प्रतियोगितामा राज्यका खेलाड़ीहरूले विभिन्न वर्गमा २१ स्वर्ण, ८ रजत र १ कांस्य पदक जितेका छन्। उक्त जानकारी इडु छिरिङ काल्योनले राजधानीमा एक पत्रकार सम्मेलनमा दिएकी हुन्।
राष्ट्रियस्तरकी खेलाड़ी इडु छिरिङ काल्योनले बताए अनुसार, उक्त प्रतियोगितामा राज्यबाट कूल १७ जनाले भाग लिए। विभिन्न वर्गमा स्वर्ण, रजत र कांस्य पदक जित्नुका साथै डेडलिफ्टमा स्ट्रङ्गेस्ट वुमन (इडु छिरिङ काल्योन), बेञ्चप्रेस स्ट्रङ्गेस्ट वुमन (रेश्मा भोटिया) र जुनियर वर्गमा स्ट्रङ्गेस्ट म्यान (थिन्ले वाङ्गदी भोटिया) को उपाधि सबै सिक्किमकै खेलाड़ीहरूले प्राप्त गरेका छन्।
खेलाड़ी रेश्मा भोटियाले आफुलगायत इडु छिरिङ काल्योनको नेतृत्वमा सिक्किमको टोलीले यस प्रतियोगितामा भाग लिएको बताइन्। सम्भवत: पहिलोपल्ट सिक्किमबाट नारीहरूको अगुवाईमा कुनै टीमले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएको उनले बताइन्। खेलाड़ीहरूलाई कुनै प्रकारको असुविधा हुन नदिएको दाबी गर्दै उनले मुख्यमन्त्रीकी धर्मपत्नीलाई पनि सहायता गरेकोमा धन्यवाद दिइन्। उनले प्रतियोगितामा खेलाड़ीहरूले उत्कृष्ट प्रदर्शन गरेर राज्यको नाम रोशन गरेकोमा खुशी व्यक्त गरिन्।