२ फरवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १६औं सीजन आजदेखि शुरु भयो। बिहीवार सुकना हाई स्कूल मैदानमा भएको उद्घाटन म्याचमा जीत हासिल गरी कालेबुङ पुलिसले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। कालेबुङ पुलिसले सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिवेश गुरुङले ह्याट्रिक गरे। उनले म्याचको २५औं, ६०औं र ७५औं मिनटमा गोल गरे। यसबाहेक एक गोल आमिर तामाङले ७३औं मिनटमा गरे। टुर्नामेण्टको पहिलो ह्याट्रिकको निम्ति अनिवेश गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। खेलप्रेमी प्यारा सिंहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा जीटीए चेयरम्यान अञ्जुल चौहान उपस्थित थिए। यसरी नै अतिथिको रूपमा खेलकुद अनि युवा मामिला विभागका एमओडी सभासद (जीटीए) नवराज छेत्री, पूर्व एडीएम गोपाल लामा, सिल्को-का प्रमुख खोकन भट्टाचार्य र खरसाङ गोर्खा पार्वत्य खेलकुद संघका पदाधिकारीवर्गको उपस्थिति रहेको थियो।

आज म्याच शुरु हुने अघि आयोजक सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनका महासचिव सुरेन प्रधानले स्वागत सम्भाषण राखे भने संस्थाका अध्यक्ष अशोक प्रधानले सबै प्रति कृतज्ञता व्यक्त गरे। अब शुक्रवार खेलिने म्याचमा सुकना युनाइटेड र सिलगढ़ी पुलिस कमिश्नरेटबीच भिड़न्त हुनेछ। म्याच दिउँसो २:३० बजीदेखि शुरु हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १४ र १५फरवरीमा हुनेछ। यसरी नै फाइनल १७ फरवरीमा खेलिनेछ।










