सिड्नी: अष्ट्रेलियाले आफ्नो ब्याङ्क नोटमा इंग्ल्याण्डका राजाको तस्वीर नछाप्ने घोषणा गरेको छ। अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो। इंग्ल्याण्डकी महारानी एलिजावेथ द्वितीयको तस्वीर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ्कले जनाएको छ। केन्द्रीय ब्याङ्कको यो निर्णयसँगै हालै राजसिंहासन सम्हालेका इंग्ल्याण्डका राजा चार्ल्स तृतीयको तस्वीर नोटमा छापिने छैन। नोटबाट राजाहरूको तस्वीर हटाउने निर्णयको अर्थ अष्ट्रेलियाको कुनै पनि कागजी मुद्रामा राजसंस्था प्रमुख रहने छैनन्।
गत वर्ष ८ सेप्टेम्बरमा महारानी एलिजाबेथको मृत्यु भएपछि राष्ट्र अध्यक्षको सम्मानमा अष्ट्रेलियाले राष्ट्रिय शोकको घोषणा गरेकामा केही आदिवासी समूहले त्यसको विरोध गरेका थिए। विरोधका क्रममा उनीहरूले राजतन्त्रको उन्मूलनका निम्ति आह्वान गरेका थिए। यसले संवैधानिक राजतन्त्रको भविष्यबारेको बहसलाई पुनः सतहमा ल्याएको छ। संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक देश अष्ट्रेलियाका राष्ट्राध्याक्ष राजा चार्ल्स तृतीय हुन्। सन् १९९९ मा भएको जनमत सङ्ग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो। केन्द्रीय ब्याङ्कको उक्त निर्णयलाई एन्थोनी अल्बानिजको वामपन्थी सरकारले समर्थन गरेको बताएको छ। सरकारको यो समर्थनबाट अष्ट्रेलिया गणतन्त्रको मार्गमा उन्मुख भएको सङ्केत गरेको छ।
नयाँ नोट छापिन केही वर्ष लाग्ने बताइएको छ भने सरकारले पनि आदिवासी समूहहरूसँग परामर्श गर्ने जनाएको छ। नयाँ नोटको प्रारूप पनि तयार भइसकेको छैन भने त्यसबारे थप निर्णय पनि नभएको केन्द्रीय ब्याङ्कका अधिकारीहरूले बताएका छन्। राजा चार्ल्स तृतीयको फोटो नोटमा नछाप्ने निर्णयको आदिवासी राजनीतिज्ञ तथा समुदायका नेताले स्वागत गरेका छन्। इंग्ल्याण्डको उपनिवेशबाट मुक्त हुने आफ्नो चाहनापूर्तिको दिशामा यो पहिलो विजय भएको टिप्पणी आदिवासी नेताले गरेका छन्।