२ फरवरीः पाकिस्तान क्रिकेट टीमका पूर्व कप्तान तथा महान क्रिकेटर वसीम अकरमले बताएअनुसार, देशमा प्रशिक्षक र कप्तानको आलोचना, दुर्व्यवहार र घृणाले गर्दा उनले राष्ट्रिय टीमलाई प्रशिक्षण दिने कहिले सोचेनन्। अकरमले भने, टीमले असल प्रदर्शन गर्न नसके म आलोचना स्वीकार गर्नेछु। पाकिस्तान क्रिकेटमा कप्तान र कोचको आलोचना मात्र नभएर अपशब्दहरूको पनि प्रयोग गरिन्छ। गाली गरिन्छ। यो सब सहन गर्न सकिँदैन। पाकिस्तानमा कोच र कप्तानले दुर्व्यवहारको साथमा कहिले काहीँ घृणाको पनि सामना गर्नु पर्छ। म यी सब कुराहरूलाई स्वीकार्न तयार छुइनँ। मेरोमा सहनशीलताको त्यो स्तर छैन। विशेषगरी सोशल मीडियालाई सम्हाल्ने क्षेत्रमा। धेरैजना मानिसको काम नै नकारात्मक टिप्पणी गर्नु हुन्छ।
अकरमले यस अवसरमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-सँग बाबर आजमलाई कप्तानको पदबाट नहटाउने माग गरे। अकरमले भने, बाबरलाई कप्तानको पदबाट हटाए ठूलो गल्ती हुनेछ। उनलाई कप्तानीबाट हटाए पनि टीमको प्रदर्शनमा कुनै फरक पर्ने छैन। कप्तानीको मामिलामा हामीसँग विकल्प नै कहाँ छ। अहिले बाबर नै सर्वश्रेष्ठ विकल्प हुन्। उनी अहिले युवा छन् अनि कप्तानको रूपमा उनको खेलमा अझ निखार आउनेछ। कुनै पनि क्रिकेटर जन्मजात कप्तान या नेता हुँदैनन्। समय र अनुभवको साथ उनीहरूले सिक्ने गर्छन्।