खरसाङ: जीटीए चुनावको लागि निर्दलीय प्रार्थीको रूपमा तीनधारे-महानदी समष्टिबाट उठेका सत्यवान छेत्रीले आफू सभासद बनेको खण्डमा कुनै पार्टीलाई समर्थन नगरेर शक्तिशाली विपक्षीमा रहेर जनताको लागि काम गर्ने बताएका छन्। उनले भने, ‘मेरो मुख्य मुद्दा भनेको नै जीटीएमा आएको पैसाको सठीक सदुपयोग गर्नु होl अनि विपक्षमा रहेर जनताको लागि काम गर्नुl’ उनले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘जीटीएमा धेरै पैसा आए पनि सठीक रुपमा विकास नभएकोले जनताले मलाई जिताएको खण्डमा विपक्षमा रहेर गाउँमै पुगेर जनताको लागि कार्य गर्नेछु।’ सत्यवान छेत्रीले आफू जीटीए चुनावको विरोधमा रहेको तर सरकारले चुनाव गराएकोले गर्दा पनि तीनधारे-महानदी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेको बताए। उनले आफू लामो समयदेखि चियाबारी श्रमिकहरूको समस्याहरूलाई लिएर ट्रेड युनियनमा कार्य गरेको कारणले गर्दा अहिले ट्रेड युनियनहरूको आवाज बन्द भएको जसले गर्दा चियाबारी श्रमिकहरूको समस्याहरू समाधान नभएकोले जितेको खण्डमा यस तर्फ कार्य गर्ने बताएका छन्। छेत्रीले चालकवर्गको लागि पनि कार्य गर्ने तथा कोरोनाकालमा चियाबारी श्रमिकहरूको लागि उठाएको रकम खोई भन्दै आफुले जितेको खण्डमा ती पैसाहरू खोजी निकाल्ने बताएका छन्।










