गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे नेपाली समुदायमाथि अन्याय हुन नदिने आफ्नो प्रतिबद्धता पुनः दोहोऱ्याउँदै राज्य सरकारले पुनरावलोकन याचिका दर्ता गर्न आफ्नो पहल शुरू गरिसकेको जानकारी गराएका छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस विषयको जानकारी दिएका छन्। मुख्यमन्त्रीले सिक्किमका ओल्ड सेटलर्सलाई आयकर छुट मामिलामा सुप्रीम कोर्टले आफ्नो अवलोकन भागमा (निर्णय भागमा होइन) अनजानमा सिक्किमे नेपाली समुदायलाई विदेशी भनेर उल्लेख गरिएको सन्दर्भमा कसैसँग अन्याय हुन नदिने आश्वासन दोहोऱ्याएका छन्। उनले सिक्किमे नेपाली समुदायका साथै राज्यका सबै समुदायप्रति आफ्नो ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले हामी सबै एक हौं र सदैव एकजुट रहने छौं भनी बताएका छन्।
मुख्यमन्त्रीले यस मुद्दालाई सम्बोधित गर्न राज्य सरकारले पुनरावलोकन याचिका दर्ता गर्ने दिशामा पहल शुरू गरिसकेको पनि जानकारी गराएका छन्। यस विषयमा उनले केन्द्रिय कानून मन्त्री किरेन रिजिजुसँग व्यक्तिगत रूपमा चर्चा गरिसकेको र सिक्किम सरकारको पुनरावलोकन याचिकालाई समधर्न जनाउने आश्वासन पनि दिएको अवगत गराएका छन्। यस अतिरिक्त, आवश्यकता परेको खण्डमा सोही आधारमा मन्त्रालयले पनि पुनरावलोकन याचिका दर्ता गर्ने उनले आश्वासन दिएको मुख्यमन्त्रीले जानकारी गराएका छन्। उनले सिक्किमे जनताको तर्फबाट केन्द्रिय मन्त्री रिजिजुलाई धन्यवाद दिएका छन्। मुख्यमन्त्रीले सिक्किमे जनतालाई धैर्य धारण गर्न अनि न्यायपालिकामाथि विश्वास राख्न अपील गरेका छन्। उनले यो केवल समयको कुरा रहेको र यस मुद्दालाई राम्रोका लागि सम्बोधित गरिने विश्वास दिलाएका छन्। उनले सबैलाई एकजुट बनौं र राज्यको उन्नतिका लागि काम गरौं भनी आह्वान पनि गरेका छन्।











