कालचिनी। मङ्गलबार अलिपुरद्वार परेड मैदानमा सम्पन्न हुने कर्मीसभा र बुधबार सुभाषिनी मैदानमा सम्पन्न हुने सामुहिक विवाह समारोहको निम्ति आज नै मुख्यमन्त्री ममता ब्यानर्जी हेलिकप्टर सेवा मार्फत हाँसीमारा वायुसेना छाउनीको हेलिप्याडमा ओर्लिएर सोझै मलङ्गी सरकारी लज अतिथिगृहमा प्रवेश गरेकी छन।
आज ठीक अपरान्ह समय ३.१० बजी मुख्यमन्त्री ममता ब्यानर्जी हाँसीमारा वायुसेना छाउनीको हेलिप्याडमा ओर्लिएकी थिईन भने त्यहाँबाट सड़कमार्ग हुँदै मलङ्गी सरकारी लजमा आएकी थिईन।
यस अवधि तिनले कसैसित भेटवार्ता गरेको देखिएन भने भोलि अलिपुरद्वार परेड मैदानमा कर्मीसभामा प्रस्थान गर्ने विज्ञ सुत्रले जनाएका छन।
बुधबार सुभाषिनी मैदानमा अलिपुरद्वार जिल्लाको ३०० जोड़ी र जलपाईगढी जिल्लाको २०२ जोड़ी जम्मा ५०२ जोड़ी आदिवासी दम्पत्तिको सामुहिक विवाह समारोहमा मुख्यमन्त्री ममता ब्यानर्जी उपस्थित रहने बताईएको छ भने तिनको बाहुलीबाट दम्पत्ति जोड़ीहरूलाई उपहार प्रदान गर्ने जनाएका छन।
यता भोलि मङ्गलबार अलिपुरद्वार परेड मैदानमा सम्पन्न हुने कर्मीसभाको सम्पूर्ण तयारी भईसकेको र मुख्यमन्त्रीको सुरक्षाको तयारीमा कुनै कमी नरहेको एवम् सुरक्षाको सम्पूर्ण प्रोटोकोलमा चुक नहुने जिल्ला पुलिस सुत्रले जनाएका छन्।