नयाँ दिल्ली: वित्त मन्त्री निर्मला सीतारामनले बुधबार इलेक्ट्रिक सवारीसाधनहरूमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीहरूमा भन्सार शुल्क १३ प्रतिशतमा घटाउने प्रस्ताव राखिन्। यसबाहेक बजेटमा सिगरेटमा १६ प्रतिशत कर बढाइएको छ। इलेक्ट्रिक सवारीसाधन सस्तो हुने गरी संसदमा आर्थिक वर्ष २०२३-२४ को बजेट प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेकी हुन्। यसबाहेक मोबाइल, टेलिभिजन, चिम्नी उत्पादनका लागि पनि करमा छुट दिइएको छ। अर्थमन्त्रीले मोबाइल फोन उत्पादन गर्ने कतिपय वस्तुको आयातमा कर महसुल घटाउने घोषणा गरेकी छन्। उनले भारतको मोबाइल फोन उत्पादन सन् २०१४-१५ मा ५ करोड ८० लाख युनिटबाट बढेर गएको आर्थिक वर्ष ३१ करोड युनिट पुगेको बताइन्। सीतारामनले टीभी प्यानलका ओपन सेल पार्ट्समा लाग्ने भन्सार शुल्क २.५ प्रतिशतमा घटाइने पनि घोषणा गरिन्। भान्साको इलेक्ट्रिक चिम्नीमा कर महसुल ७.५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ। उनले सरकारले तामाको स्क्र्यापमा २.५ प्रतिशत भन्सारलाई निरन्तरता दिने बताइन्। सरकारले निकासी प्रवर्द्धन गर्न झींगा फ्रीडमा कर घटाउने उनले बताइन्। अर्कोतर्फ सुन चाँदीका सामानमा भन्सार कर बढाइएको छ। अर्थमन्त्रीले प्रयोगशालाबाट उत्पादन हुने हिराको प्रवर्द्धन गर्न कर महसुल छुट दिइने बताइन्।