३० जनवरीः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल च्यालेञ्ज कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा निवास फाइभ च्याम्पियन भयो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा आइतवार भएको फाइनलमा निवास फाइभ-ले मिरिक युनाइटेडलाई पेनल्टी शूटआउटमा १-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा निवास फाइभ-का शेराप तामाङले हाईएस्ट स्कोरर र शुभंकर राईले बेस्ट गोलकीपरको पुरस्कार जिते। यसरी नै मिरिक युनाइटेडका सिधु प्रधानले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी हासिल गरे। यसरी नै चन्दन गुरुङ स्मृति नक्आउट भेटरन्स फूटबल टुर्नामेण्टमा एक्स आर्मी भेटरन्स (मिरिक) च्याम्पियन भयो। फाइनलमा एक्स आर्मी भेटरन्सले ओकाइटी भेटरन्सलाई २-०-ले पराजित गऱ्यो।