गान्तोक: सत्तारूढ़ एसकेएम पार्टीले सिक्किमे नेपाली समुदायलाई विदेशी भनिएको विषयलाई लिएर प्रतिवाद जनाउँदै आज राजधानीमा शान्ति याली निकाल्यो। तादोङस्थित कन्भोय ग्राउण्डबाट शुरू भएको शान्ति रेली इन्दिरा बाइपास हुँदै जिल्ला प्रशासनिक केन्द्र परिसर पुगेर समाप्त भएको थियो। रेलीमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईलगायत विधानसभा अध्यक्ष अरुण उप्रेती, मन्त्रीगण, विधायकगण, लोकसभा सांसद इन्द्रहाङ सुब्बा तथा अन्यहरूको व्यापक उपस्थिति रहेको थियो।याली शुरू हुनअघि एसकेएम पार्टीका प्रवक्ता जेकब खालिङले उपस्थित जन समुदायलाई सम्बोधित गर्दै सिक्किमका ओल्ड सेटलर्सलाई आयकर छुट मामिलामा सुप्रीम कोर्टले आफ्नो अवलोकनमा सिक्किमे नेपाली समुदायलाई विदेशी मूलका नेपाली भनेर उल्लेख गरेको छ भनी बताए। उनले यस्तो उल्लेख सुप्रीम कोर्टको निर्णयमा होइन, तर अवलोकन भागमा गरिएको भए तापनि एसकेएम सरकारले यस विषयलाई गम्भीरतासँग लिएको बताए। सिक्किमे जनताले एसकेएमलाई अभिभावक चुनेको बताउँदै एसकेएमले निर्वाचित अभिभावकको भूमिका सतप्रतिशत पूरा गर्ने बताए।
यस मुद्दाको सन्दर्भमा मुख्यमन्त्री केन्द्रिय नेताहरूसँग सम्पर्कमा रहेको जानकारी गराउँदै एसकेएमले यो मुद्दालाई सड़कदेखि संसद अनि कोर्टमा पनि उठाउने तयारी गरिसकेको उनले बताए। उनले सिक्किमे नेपालीहरूको सीरलाई झुक्न दिइने छैन, बरू अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले मुख्यमन्त्री पीएस तामाङको अगुवाईमा सिक्किमे नेपाली समुदायमाथि लागेको विदेशीको कलंक अवश्य मेटाएर देखाउने ठोकुवा गरे। आयकर छुटको मुद्दा कसरी न्यायालयसम्म पुग्यो र आज यस्तो स्थिति उत्पन्न भयो भन्ने विषयमाथि बोल्दै प्रवक्ता खालिङले यसको निम्ति पहिलेको एसडीएफ सरकार जिम्मेवार रहेको आरोप लगाए। उनको भनाई अनुसार, सिक्किमका भोटिया, लेप्चा र नेपालीले आयकर छुट पाउँदा पुराना व्यापारीहरू छुटिएका थिए। पुराना व्यापारीहरूले तत्कालीन एसडीएफ सरकार समक्ष आयकर छुटको निम्ति पत्राचार गर्दा तत्कालीन मुख्यमन्त्री पवन चामलिङले उनीहरूलाई न्यायालयमा गएर न्यायको निम्ति गुहार लगाउन सुझाउ दिएका थिए।
सोही अनुरूप पुराना व्यापारीहरूले आयकर छुटको मुद्दा सुप्रीम कोर्ट लिएर गएका थिए। २०१९ मा एसकेएम पार्टीको सरकार गठन हुँदा यस मुद्दालाई लिएर बुझाउनु पर्ने लगभग सबै हलफनामाहरू एसडीएफ सरकारले बुझाइसकेका थिए। एसकेएम पार्टी सरकारमा आउँदा यस मुद्दामा केवल सुप्रीम कोर्टको जजमेन्ट पर्खेर बस्नु पर्ने स्थिति रहेको थियो भन्ने खालिङको भनाई छ। तर, ओल्ड सेटलर्सले पनि आफ्नो माग राख्ने क्रममा नेपालीहरूलाई बाहिरबाट आएको भन्ने कुराहरू उल्लेख गरेर गल्ती गरेको उनले बताए। उनले यस्तो गल्ती फेरि दोहोरिनु हुँदैन भन्ने चेताउनी पनि दिए।









