गान्तोकः आफ्नो फुटबल क्लब युनाइटेड सिक्किम एफसी र रोयल इनफिल्ड मोटरबाइक कम्पनीको तत्वाधानमा अनि स्थानीय पञ्चायत एवं गाउँलेहरूको सहभागितामा भारतका पूर्व राष्ट्रिय फुटबल कप्तान भाइचुङ भोटियाले आज राजधानी गान्तोकदेखि केही माथि अवस्थित पाङ्थाङमा सफाई अभियान चलाए। विश्व पर्यावरण दिवसको अवसर पारेर आयोजित आजको कार्यक्रममा भाइचुङले गाउँलेहरूलाई आफ्नो गाउँ-घर सफा राख्न विभिन्न उपकरण जस्तै डस्ट बीन, ग्लोब्स, रेन कोट आदि साथै बाल बालिकालाई खेलकुद सामाग्री प्रदान गरे।
युनाइटेड सिक्किम एफसी-ले पहिलेदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै यस वर्ष विश्व पर्यावरण दिवसको अवसरमा देशका विभिन्न प्रान्तमा सफाई अभियान चलाइरहेको रोयल इनफिल्ड मोटरबाइक कम्पनीसित मिलेर आजको कार्यक्रम आयोजना गरिएको भाइचुङले बताए। यस कार्यमा सक्रिय सहभागिता जनाएर सहयोग पुऱ्याएकोमा उनले स्थानीय नाबे सोतक र लिङ्गदोक नामफुङ्ग जीपीय-का पञ्चायतहरूलाई धन्यवाद दिए।
यसरी नै पञ्चायतहरूले पनि क्षेत्रको सफाईको निम्ति पहल गरेकोमा भाइचुङ भोटिया र रोयल इनफिल्ड कम्पनीका प्रतिनिधिहरूलाई धन्यवाद दिएका छन्।









