काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको निर्णयानुसार आउँदो ९ मार्च बिहीबार राष्ट्रपतिको र १७ मार्च शुक्रबार उपराष्ट्रपतिको चुनाव गर्ने गरी मिति तोकिएको छ। दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
दुवै पदका लागि सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहनेछन्। विद्यमान कानुनी प्रावधानका कारण आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र नसकिएको जनाएको छ। स्वीकृत चुनाव कार्यक्रमअनुसार राष्ट्रपतिको चुनावका लागि २२ फरवरी बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ। साथै फागुन २५ फरवरी शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चुनाव अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। उपराष्ट्रपतिको चुनावका लागि ११ मार्च शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका कार्यक्रम तय गरिएको छ। नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ।
१३ मार्च २०१८ मा भएको राष्ट्रपतिको चुनावमा निर्वाचित भएका वर्तमान राष्ट्रपतिको पदावधि १३ मार्च २०२३ मा समाप्त हुने भएको तथा १८ मार्च २०१८ मा निर्विरोध निर्वाचित भएका वर्तमान उपराष्ट्रपतिको पदावधि १७ मार्च २०२३ मा समाप्त हुने भएकाले सोअगावै निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोकिएको हो।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ (सन् २०१८) को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने छ। साथै सोसम्बन्धी सूचना राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ (सन् २०१८) को दफा ४ तथा दफा ५ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले सोका लागि नेपाल सरकारका मुख्य सचिवमार्फत् नेपाल सरकार मन्त्री परिषद्लाई आयोगले लेखी पठाउनेछ। आयोगले तोकिएको मितिमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन नेपाल सरकारका मुख्य सचिवमार्फत् नेपाल सरकार मन्त्री परिषद्लाई लेखी पठाउने जनाइएको छ।