गोरखपुर (उत्तर प्रदेश): उत्तर प्रदेशको गोरखपुरमा रहेको गोरखनाथ मन्दिर आक्रमणका दोषी अहमद मुर्तजालाई मृत्युदण्डको सजाय सुनाइएको छ। सोमबार एटीएस-एनआईए अदालतको मुद्दामा फैसला आएको छ। हालै मुर्तजालाई अदालतले युएपीए, देशविरुद्ध युद्ध र हत्यारा हमला गरेको आरोपमा दोषी ठहर गरेको थियो। सोमबार मुर्तजालाई सुनुवाइका लागि अदालतमा हाजिर गराइएको थियो। एटीएस–एएनआईको अदालतले मुर्तजालाई मृत्युदण्डको सजाय सुनाएको हो।
मुर्तजाले गोरखनाथ मन्दिरमा प्रवेश गरी सुरक्षाकर्मीमाथि घातक हमला गरेका थिए। ४ अप्रेलमा गोरखनाथ थानाका प्रमुख हवल्दार विनय कुमार मिश्राले मुर्तजाविरुद्ध रिपोर्ट लेखेका थिए। उनी मन्दिरको गेट नम्बर एकका सुरक्षा इन्चार्ज थिए। मुर्तजाले पीएसी जवान अनिल कुमार पासवानमाथि आक्रमण गरी हतियार खोस्ने प्रयास गरेका थिए। अन्य सुरक्षाकर्मी उद्धारमा आएपछि मुर्तजाले उनीहरूलाई पनि आक्रमण गरे। त्यसपछि हतियार हल्लाउँदै धार्मिक नारा लगाउन थाले। पुलिसले उनलाई पक्राउ गरी जेल चलान गरेको छ। अनुसन्धानका क्रममा उनको साथबाट हतियार, ल्यापटप र उर्दूमा लेखिएको सामग्री बरामद भएको थियो।
डेपुटी एसपी सञ्जय वर्माले मुद्दामा आरोपपत्र दायर गरेका थिए। एटीएसले यस मामिलामा २५ अप्रेल २०२२ मा अहमद मुर्तजालाई विशेष अदालतमा पेश गर्यो र पुलिस हिरासतमा राखेर रिमान्ड पनि लिएको थियो। सरकारी खर्चमा मुर्तजाका लागि वकिल लगाइएको थियो। २७ गवाहीहरू पेश गरेपछि, एटीएस-एनआईए अदालतले यस निष्कर्षमा पुग्यो र सोमबार दोषी मुर्तजालाई मृत्युदण्डको फैसला सुनायो। यसअघि शनिबार एनआईए-एटीएस अदालतले अहमद मुर्तजालाई दोषी ठहर गरेको थियो।