सोरेङ। सोरेङ जिल्लाको विभिन्न स्थानमा आज विश्व पर्यावरण दिवस पालन गरेको रिपोर्ट प्राप्त भएको छ। यहाँको टिम्बुरबुङ माध्यमिक विद्यालयमा पनि विविध कार्यक्रमको साथमा विश्व पर्यावरण दिवस पालन गरियो। उक्त स्कूलको पेक्षागृहमा आयोजित कार्यक्रममा क्षेत्र विधायक आदित्य गोले प्रमुख अतिथिकोरूपमा उपस्थित थिए। यस अवसरमा विधायक गोलेले स्कूल परिसरमा गुराँसको बिरुवा रोपे। उक्त अवसरमा विधायक गोलेले टिम्बुरबुङ माध्यमिक विद्यालयका नवनिर्मित बहुउद्देश्यीय कक्षाको विधिवत उद्घाटन गरेर स्कूललाई समर्पित गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि गोलेले विद्यार्थीहरुलाई स्वाच्छ पर्यावरणको आवश्यकता बारे जानकारी गराए। प्रत्येक विद्यार्थीहरूले आफू बाँचेको वातावरण स्वच्छ राख्नको निम्ति पहल गर्ने आग्रह गरे। सोही प्रकारले मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले यो कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्यबारे प्रकाश पारे। भोलिको दिनमा पर्यावरण स्वच्छ राख्न साथै सिक्किमको पर्यवरणलाई यथावत राख्न विद्यार्थीहरूलाई आग्रह गरे।

यसरी नै गान्तोक जिल्लाक जिल्ला प्रशासनिक केन्द्र अन्तर्गत इभीएम वेयर हाउसमा पनि विश्व पर्यावरण दिवस पालन गरियो। उक्त कार्यक्रमको आयोजना मुख्य चुनाउ अधिकारी विभागद्वारा गरिएको हो। यस वर्षको थिम एउटा कवल एउटा धर्ती रहेको थियो।उक्त अवसरमा मुख्य चुनाउ अधिकारी डी. आनन्दन र जिल्लापाल राघुल के-ले विभिन्न प्रजातिको विरूवा रोपे। यसरी नै बर्फुङ निर्वाचन क्षेत्रको टाइटानिक भ्यू पोइन्टमा पनि विश्व पर्यावरण दिवसको अवसरमा विरूवा रोपन कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रमको आयोजना बर्फुङ टिम, सीएलसी युथ शाखा र टाइटानिक प्रवन्धन समितिको संयुक्त पहलमा आयोजना गरिएको हो। कार्यक्रममा चेरी, निलकमल, अल्जेरिया र गुराँसका विरूवाहरू रोपिएको जानकारी गराएको छ। यस अवसरमा मुख्य अतिथिकोरूपमा सीएलसी उपाध्यक्ष लोब्जाङ भोटिया, सीएलसी अध्यक्ष विष्णु शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सोही प्रकारले सिक्किम इन्सटीट्यूट अफ् साइन्स एण्ड टेक्नोलजी चिसोपानीमा पनि विश्व पर्यावरण दिवस पालन गरियो। उक्त संस्थानमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजना गरिएको कार्यक्रममा सीसीसीटी फाटकदेखि एसआइएसटीसम्म विरूवा रोपन साथै सर सफाई कार्यक्रम आयोजना गरियो। प्राप्त जानकारी अनुसार यस अवसरमा ५० भन्दा अधिक विभिन्न प्रजातिको विरूवा रोपियो।विशेष गरेर चेरी, गुराँस, अम्बक र अनारका विरूवा रोपिएको जानकारी गराएको छ। यसरी विरूवा उपलब्ध गराएकोमा जोरथाङ विन विभागका अधिकारीवर्गलाई विद्यार्थीवर्गले धन्यवाद दिँदै आभार प्रकट गरेका छन्। यसरी नै सिक्किम राज्य कानुनी सेवा प्राधिकरणको पहलमा विकासक्षेत्रस्थित संस्थाको कार्यालय परिसरमा विश्व पर्यावरण दिवस पालन गरियो। सिक्किम उच्च न्यायालयकी न्यायधीश मिनाक्षी मदन राईको निर्देशमा आयोजित विरूवा रोपन कार्यक्रम अन्यहरूको पनि उपस्थिति रहेको थियो।









