मङ्पु: खरसाङ महकुमा अन्तर्गत सिटोङको विशेष होमस्टे प्रागंणमा एक भव्य कार्यक्रमबीच नेपालको मनोरम स्थानहरूमा सुटिङ गरिएको युवा निर्माता विशेष राईको निर्माण अनि युवा गायक रोहित राईको स्वर साथै बिनेश राई अनि उपासना तामाङको अभिनयमा रहेको म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न भएको छ। संगम राईको निर्देशनमा रहेको यस म्युजिक भिडियोमा क्यामेरा म्यान-एडिटर राजिव खवास रहेको म्युजिक भिडियो ‘थाहा छैन तिमीसंग’ को प्रिमियर शो सम्पन्न भएको छ।

उक्त कार्यक्रम रोशन राईको सभापतित्वमा सम्पन्न भएको थियो जसको मुख्य अतिथि शिक्षक शिशिर राई अनि विशिष्ट अतिथि रतन गुरुङ उपस्थित रहेका थिए। कार्यक्रमको पहिलो चरणमा समाजप्रति आफ्नो बहुमूल्य योगदान दिईरहेका विशिष्ट व्यक्तिहरू क्रमैले शिशिर राई, रतन गुरुङ, केशर मोक्तान ‘गाउँले’, सञ्जीव छेत्री, अरूण खवास, किशोर राई, समय दर्पण, साम्देन शेर्पा, सुरेन बर्मे, रमेश गुरूङ अनि विशेष राईलाई सम्वर्द्धना जनाईयो। अघिल्लो कार्यक्रममा “थाहा छैन तिमीसंग” का निर्माता विशेष राईको बाहुलीबाट यस म्युजिक भिडियोसंग सम्बन्धित सम्पूर्ण कलाकारहरू गायक रोहित राई, निर्देशक संगम राई, नायक बिनेश राई, नायिका उपासना तामाङ, छाँयाकार र एडिटर राजीव खवास, स्क्रिन प्ले विवेक खवास, मेकअप म्यान कुशल मोहरा अनि विशेष सहयोगी राहुल बुडाथोकीलाई स्मृति चिन्ह प्रदान गरी सम्मान गरिएको छ।

कार्यक्रमलाई शिक्षक शिशिर राई, राजनीतिज्ञ रतन गुरुङ, संगीतकार रमेश गुरूङ, एरेन्जर सुरेन बर्मे, गीतकार सञ्जीव छेत्री, पत्रकार केशर मोक्तान, पत्रकार अरूण खवास, संगीतकर्मी किशोर राई आदिले सम्बोधन गरेका थिए भने कार्यक्रममा उपासना तामाङले सुन्दर नृत्य प्रस्तुत गरेकी थिइन्। विशेष राईले रयाप गीत प्रस्तुत गरे भने कुशल मोहोराले कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन बिक्रम राईले गरेका थिए। ज्ञात रहोस केही दिन पश्चात यस म्युजिक भिडियोलाई युटुबमार्फत् सार्वजनिक गरिने भएको छ।