खोरमा चितुवा

सिलगढी: धेरै दिनदेखि सिलगढी जक्सनको डेमु सेड इलाकामा चितुवा देखापरेको थियो। यसरी जंगली चितुवा देखा परेपछि इलाकाका मानिसहरू साँझ परेपछि घरबाट बाहिर निस्कन बन्द गरेका थिए। अन्ततः आज बिहान वन विभाग सो चितुवालाई पक्रन सफल बनेको छ। स्थानीय मानिसहरूले डेमु सेड लगायत यसको छेउछाउको इलाकामा चितुवा घुमफिर गरिरहेको देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवाको खोजी शुरू गरे तापनि चितुवालाई पक्रन नसकेपछि अन्ततः खोर थापेर उक्त चितुवालाई पक्रेको बताइएको छ। आज बिहान स्थानीय मानिसहरूले वन विभागले थापेको खोरमा चितुवा फँसेको देखे। वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवालाई उद्धार गरेर लगे। उक्त चितुवालाई हेर्नको लागि मानिसहरूको निक्कै भीड जमेको देखियो। केही दिन अघि जक्सन डेमु सेड इलाकामा काम गरिरहेको समय रेलवेका केही कर्मचारीहरूले झाँडीमा चितुवा देखे। तीमध्ये एकजनाले मोबाइलमा चितुवाको भीडियो बनाएका थिए। उक्त भीडियो देखेपछि वन कर्मीहरूले उक्त चितुवाको खोजी शुरू गरे। यसपछि चितुवा पक्रनको लागि इलाकामा खोर थापिएको थियो।

वन विभागको टोलीले खोरमा थुनिएको चितुवालाई उद्धार गरेर चितुवालाई बंगाल सफारी पार्क लगी त्यहाँ छोडेको जानकारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement