२९ जनवरीः युनाइटेड स्पोर्टिंग क्लब (नागरी फार्म टी स्टेट)-को तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा मानेभञ्ज्यांग एफसी-ले फाइनलमा स्थान बनायो। नागरी फार्म खेल मैदानमा आइतवार भएको पहिलो सेमिफाइनल म्याचमा मानेभञ्ज्यांग एफसी-ले नमो बुद्ध रिम्बिकलाई १-०-ले पराजित गऱ्यो। म्याचको एकमात्र गोल म्याक्सवेलले छिराए। विजेता टीमका ढेण्डुप भूटियालाई प्लेयर अव् द म्याच चयन गरियो। अब ५ फरवरीमा हुने दोस्रो सेमिफाइनलमा नागरी टी स्टेट र गोपालधारा एफसी-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १२ फरवरीमा हुनेछ भनी आयोजक समितिको पक्षमा सांगडुप तामाङले जानकारी दिएका छन्।










