गान्तोक: सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) र हाम्रो सिक्किम पार्टी (एचएसपी) ले राज्यका बहुसंख्यक सिक्किमे नेपालीमाथि विदेशीको कलंक लाग्नुमा सिक्किमकै वर्तमान अनि पूर्व सरकारहरू जिम्मेवार रहेको आरोप लगाएका छन्।आज राजधानीमा एक संयुक्त पत्रकार सम्मेलन आयोजन गरेर एसआरपी र एचएसपीले यस्तो आरोप लगाएका छन्।एसआरपी अध्यक्ष केबी राईले राज्यका बहुसंख्यक सिक्किमे नेपालीमाथि विदेशीको कलंक लाग्नुमा यहाँका सरकारहरू नै दोषी रहेको आरोप लगाए। उनले सिक्किममा यस्ता धेरै दस्तावेजहरू रहेको जानकारी गराए जसमा स्थानीय बहुसंख्यक समुदायलाई विदेशी भनेर उल्लेख गरिएको छ। यी कुराहरूलाई सच्याउने दिशामा अहिलेसम्मका सरकारहरूले कुनै पहल नगरेको उनले बताए। वर्तमान सरकारले पनि आफ्नो चार वर्षको कार्यकालमा अहिलेसम्म यस विषयमाथि ध्यान नदिएको उनले आरोप लगाए। पूर्व सरकारले यदि सुप्रीम कोर्टमा गलत हलफनामाहरू बुझाएका थिए भने वर्तमान सरकारले ती भूलहरूलाई सुधार गर्ने काम किन गरेन भनी उनले प्रश्न गरे। वर्तमान सरकारले पनि सिक्किमे नेपालीहरू विदेशी नै हुन् भन्ने कुरालाई स्वीकार गरेकाले सुप्रीम कोर्टको फसेलामा विदेशी भन्ने कुरा प्रतिबिम्बित भएको राईले ठोकुवा गरे। अर्कोतिर, राज्य सरकारले सुप्रीम कोर्टको फसेलाको सन्दर्भमा समीक्षा याचिका दर्ता गर्ने कुरा गरिरहेको विषयलाई एसआरपी अध्यक्षले जनताको आँखामा धुलो हाल्ने कामको संज्ञा दिए। सरकारले बुझाएका हलफनामाहरूकै आधारमा सुप्रीम कोर्टले यस्तो निर्णय सुनाएको दाबी गर्दै सरकारले अब कुन आधारमा समीक्षा याचिका दर्ता गर्ने भनी उनले गरे। उनले यस समस्याको समाधान राजनीतिक रूपमा गरिनु पर्ने बताउँदै समीक्षा याचिका यसको समाधान नरहेको बताए।राज्य सरकारले सिक्किमे नेपालीहरू को हुन् भन्ने विषयमा भौगोलिक, सामाजिक र राजनीतिक इतिहास तयार गर्नुपर्छ र एउटा रिपोर्ट बनाएर विभिन्न केन्द्रिय निकायहरूमा प्रेषित गर्नुपर्छ भनी बताए। उनले सिक्किमे जनता पनि अब भिक्टिमाइज हुन्छु भन्ने डर बोकेर बस्नु हुँदैन भन्दै सुप्रीम कोर्टको फसेलाले सिक्किमे नेपालीहरूलाई सिक्किम अनि देशबाटै बाहिर गर्ने भिक्टिमाइज गरिसकेको बताए सिक्किममा एनआरसी लागू भएको खण्डमा सिक्किमे नेपालीहरू हटाइनु सकिने र त्यस समय सिक्किम सब्जेक्ट/सीओआईले पनि छेक्नु सक्ने छैन भनी उनले बताए। एसआरपी अध्यक्ष राईले पूर्वको एसडीएफ सरकारले आफ्नो घोषणा पत्रमा सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको कलंक हटाउने घोषणा गरेको थियो भनी बताए। तर, आफ्नो २५ वर्षसम्मको कार्यकालमा एसडीएफले सिक्किमे नेपालीहरूमाथि लागेको विदेशीको कलंकबाट मुक्ति दिलाउन के पहल गरे भनी प्रश्न गरे।










