खरसाङ: आगामी जीटीए चुनावमा इन्डिपेन्डेन्ट्स फोरम गठन गरेर निर्दलीय प्रार्थीहरूको रुपमा नामांकन पत्र भरेका छन्। इन्डिपेन्डेन्ट्स फोरमका प्रतिनिधिहरूले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर इन्डिपेन्डेन्ट्स फोरमको उद्देश्य विषयमा जानकारी गराएका छन्। यस फोरमको प्लेटफर्मबाट नै आगामी जीटीए चुनावमा निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएर चुनाव मैदानमा उत्रेका छन्। यसको साथै यस फोरमले यसपालीको जीटीए चुनावमा उठेका सबै निर्दलीय प्रार्थीहरूलाई एकै मञ्चमा ल्याउने प्रयास गरिरहेका छन्। इन्डिपेन्डेन्ट्स फोरमको मुख्य व्यक्ति गुञ्जे लामाले पत्रकारहरूसित कुराकानी गर्दै खरसाङमा एउटा इन्डिपेन्डेन्ट्स फोरम गठन गरेर अराजनैतिक तौरमा यसपालीको जीटीए चुनावमा प्रतिस्पर्धा गरिरहेको बताएका छन्। उनले जनता अहिले राजनैतिक पार्टीहरूबाट वाक्कै दिक्कै भईसकेको कारणले जनताको विचारलाई कदर गर्दै इन्डिपेन्डेन्ट्स फोरम गठन गरेर निर्दलीय प्रार्थीहरूको रुपमा नामांकन पत्र बुझाएको बताएका छन्। उनले यस फोरमको मुख्य उद्देश्य यस चुनावमा योग्य र असल छबि भएको व्यक्तिलाई जिताएर क्षेत्रको विकास गराउन साथै विकासको कार्यहरू गर्न रहेको बताएका छन्। गुञ्जे लामाले निर्दलीय प्रार्थीहरूले जितेर गए जीटीएमा धेरै कार्यहरू गर्न सक्ने, गोर्खाल्याण्डको लागि पनि कार्य गर्न सुविधा हुने बताउँदै निर्दलीय प्रार्थीहरूले चुनाव जिते पहाड़को निर्दलीय प्रार्थीहरूको लागि राम्रो हुने बताएका छन्। लामाले पत्रकारहरूले सोधेको प्रश्नको उत्तरमा हामी कुनै राजनैतिक दलसित सम्बन्धित छैनौं र यो फोरम विशुध्द रुपमा अराजनैतिक हो भनी बताएका छन्। पत्रकार सम्मेलनमा निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका दिपेन्द्र देवानले हामी सबैले इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट चुनाव लड़ेको बताउँदै आगामी ७ जूनको दिन हामी खरसाङमा एक सभा गरेर जीटीए चुनावमा निर्दलीय प्रार्थीको रुपमा नामांकन पत्र बुझाएका सबै निर्दलीयहरूलाई बोलाएर सभा गर्ने र यसको लागि सबै निर्दलीय प्रार्थीहरूले आएर नाम दर्ता गरिदिने अनि आफ्नो आफ्नो क्षेत्रको समस्याहरू लिएर आए हामी इन्डिपेन्डेन्ट्स फोरमको मञ्चबाट चुनाव घोषणा पत्र बनाउन सुविधा हुने बताएका छन्।









