सिङ्गलिङमा मुख्यमन्त्री गोलेको आवासमा एसकेएम पार्टीको क्षेत्रस्तरीय सभा

गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्लाअन्तर्गत सिङ्गलिङस्थित पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको निज वासस्थानमा सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको गेजिङ र सोरेङ जिल्लास्तरीय समन्वय सभा सम्पन्न भयो। आगामी ४ फरवरीको दिन आयोजना हुने पार्टीको ११औं स्थापना दिवस कार्यक्रमको तयारी बारे चर्चा गर्नु सभाको उद्देश्य रहेको थियो। सभामा पार्टीका क्षेत्रस्तरीय नेताहरूको साथमा मन्त्रीद्वय लोकनाथ नेपाल र एमएन शेर्पा साथै विधायक आदित्य गोलेको पनि विशेष उपस्थिति रहेको थियो।

मन्त्री लोकनाथ नेपालको सभाध्यक्षतामा बसेको सभालाई सम्बोधन गर्दै पश्चिम जिल्ला प्रभारी डीबी गुरुङले आजको सभा आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए। यसको साथै उनले एशकेएम पार्टीले सरकार गठन गरेको चार वर्ष भित्रमा राज्यमा भएका प्रगतिका कामहरू बारे पनि जानकारी गराए।
यसरी नै सभालाई सम्बोधन गर्दै मन्त्री लोकनाथ नेपालले पार्टी अध्यक्ष तथा मुख्यमन्त्री पीएस गोलेको निर्देशमा आजको सभा आयोजना गरिएको जानकारी गराए। उनले राज्य सरकारले राज्यवासीको हितमा शुरु गरेका विभिन्न कार्यक्रम र योजनालाई जनजनमा पुऱ्याउनुपर्ने कुरामा विशेष जोर दिए। मन्त्री नेपालले पार्टीको आगामी स्थापना दिवस कार्यक्रमलाई सफल बनाउन सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने आह्वान पनि गरे।

आजको सभाले आगामी चार फरवरीसम्म गेजिङ र सोरेङ जिल्लाका सबै क्षेत्रमा पार्टीको झण्डा लगाउने पनि निर्णय लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement