
सोच पनि वैज्ञानिक हुनुपर्छ भन्छन् आजका पण्डित, टाई विद्वान (Tie Intellectual )। महाकवि कालिदास त उच्च सोच र नीच भन्थे अझ,असांसरिक सोच भन्थे। असांसरिक सोच खालिल जीब्रानको छ, कहीँ कहीँ विश्वेश्वरप्रसादमा भेटछु त मदनमणि दीक्षितमा पनि। संसारमा छपाई आउनु नै साहित्यलाई विज्ञानले असर पार्नु प्रत्यक्ष प्रमाण हो। छपाई नभएको भए वेद कहाँ पुग्थ्यो? विश्व के हुन्थ्यो? बिचरा साहित्य उसको परिभाषाको नै अत्तोपत्तो छैन संसारको दु:खमा कि सुखमा,सृजनमा कि विनाशमा? मैले व्यतीत गरेका हिजोका कुरा अक्षरमा रुपान्तर गर्नु नै साहित्य। म दङ्ग पर्छु मेरा पीडा साहित्य भए। म साहित्य निर्माण गर्नसक्ने भएँ…!
यसै कारण म यहाँ साधनामा लागि परेको छु,खोज्दो छ जीवन उदघाटन जड अजडका कुरा,करवीर मसानका कुरा,पशुपति-भस्मेश्वरका कुरा। के देवता-देवीले साहित्य,कला पाएनन्? वेदव्यास ऋषिलाई के थाहा साहित्य? उपनिषद्का याज्ञवल्क्यलाई, उद्धालक मुचुकुन्दलाई? २०१६ मा प्रथम अन्तरिक्ष यात्रा शुरु भयो, यसले साहित्य र कलामा प्रभाव पार्नसम्म पार्यो। यस बेलाका मान्छेको सोचाइमा पूर्ण परिवर्तन भनेको- मान्छे सृष्टिमा सर्वश्रेष्ठ हुनपुग्यो, मैले त पछि मात्र बुझें – हाँसो उठ्दो मान्छेको बुद्धि मान्छे आफू जाकिन खाडल खनिसकेको रहेछ। अन्तरिम यात्राको लागि जति पैसा खर्च भयो त्यसको आधा मात्र पनि संसारको उत्पादन खर्च हुँदो हो। सोचाइमा वैज्ञानिकता – समाजलाई काम लाग्ने,मान्छेलाई काम लाग्ने, कामको सोचाइ नै वैज्ञानिक हुनसक्छ। एकातिर रुस अनि युक्रेनको लडाईले विश्वलाई आतंकित बनायो। संयुक्त राष्ट्रसंघमा विवाद हुनु जो निर्थक छ। आज विश्व-त्रसित विनाशदेखि मान्छेलाई बाँचिरहन मन छ,दु:खै पाएर पनि। सुखले बाँच्ने कति छन् र दु:ख त जन्मैदेखि लिएर आएको।
दु:ख त साहित्य हो – कला हो, सुख न्युकिलर एटम बम हो। निर्माण राम्रै हो, विनाश अकाटय छ। वैज्ञानिक सोचले लेखकको तलब बढाउन सकेन, सम्मान दिन सकेन। विश्वयुद्ध, गृहयुद्ध, जीवनयुद्ध समाप्तको कुरो छोडौं, रोक्न सकेन। अब वर्षा हुन छोडेको छ। अनिकाल निश्चित छ। साहित्यको विषय या निबन्धको विषय भएन कि? म त संसारका प्रत्येक विषयमा लेख्छु, हेरुँ कसले रोक्नसक्छ? विज्ञानले न त मान्छेलाई मान्छे बनाउन सक्यो न त संसारलाई मान्छे बाँच्ने ठाउँ। गरिब र धनी या भाग्य र अभाग्य यी सब वैज्ञानिकका लागि अझै चुनौती छ। आजको फोटोकपी छ, कम्प्युटराइज दुनियाँ। संसारको कुरा टेलिभिजनले बताउँछ र कम्प्युटरमा अङकित हुन्छ, यसलाई मैले साहित्यमा असरकै रुपमा लिएको छु। समाजको उँच र नीच वैज्ञानिकले हटाउन खोजेको पक्कै हो तर एटम बम, न्युक्लियर बम पडकाएर हुँदैन। मान्छेको सोंच हुनुपर्यो – नीच भनेको के हो,उँच भनेको के हो? एउटा साह्रै ठूलो विद्वान नीच बुद्धिको हुनसक्छ। आजकल त म सबै नीच मान्छे नै देख्छु, ढोंगी फर्मल।
सबै समान मान्ने रे, प्रायः असम्भव। योग्यलाई तपाई असल व्यक्ति बनाउनुहोस्। वैज्ञानिक सोंच – मान्छेले मान्छेलाई ठान्नु, उसलाई बाँच्न दिनु, अर्कालाई दु:खबाट उतार्नु। प्राणीको हित, कर्म र उच्च – आदर्श नै वैज्ञानिक सोंच। पानी नपरे संसारको पापको कारण, यो वैज्ञानिक सोंच होइन भन्ने आजको चश्मावाल ‘टाइ विद्वान’ – लाई हेरेर म हाँस्छु। विज्ञानलाई त मैले अहिलेसम्म एउटा असफल शास्त्रको रुपमा लिएको छु – मान्छेले विज्ञानलाई विनाशको अस्त्र बनाएको छ, सदुपयोग गरेन। संसारलाई विनाशबाट बचाउनु अब मान्छेकै काम छ।