सिलगढीः बिहेबाट फर्किने क्रममा हिजाे राति अबेर मोङपोङ नजिक रुङदुङ पुलमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साहिल शेख (२३) र शुक्ला कुण्डु (५७) दुई जना सिलगढीका बासिन्दा हुन्। यसबाहेक दक्षिण २४ परगनाका तिलक मण्डल (३४) र मुर्शिदाबादका राजु शेख (२६) छन्। दुर्घटनामा ७ जना घाइते भएका छन्। उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार गाडी बानरहाट फर्किरहेको थियो।

बाटोमा नियन्त्रण गुमाएर दुर्घटनामा परे। सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। सबैलाई गम्भीर अवस्थामा उद्धार गरी ओदलाबारी ग्रामीण अस्पताल लगिएकोमा २ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। बाँकी २ जनाको उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बाँकीको उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।









