कुचबिहार: सीमामा गाईवस्तु तस्करीका क्रममा बीएसएफको गोली लागेर बंगलादेशी तस्कर घाइते भएका छन्। घटना माथाभाङ्गा ब्लक १ को बैरागिरहाट ग्राम पञ्चायतको चोङ्गरखाटा खगरीबाडी क्षेत्रमा भएको हो। घटनाले सीमा क्षेत्रमा सनसनी फैलाएको छ। सीमावर्ती क्षेत्र चोङ्गरखाटा खगरीबादीमा लगभग १० तस्करको टोली गाई तस्करीका लागि जम्मा भएको बताइएको छ। बीएसएफको गस्ती टोलीले तस्करी रोक्न खोज्दा तस्करले बीएसएफमाथि आक्रमण गरेका थिए। बीएसएफ स्रोतका अनुसार बीएसएफ जवानले आत्मरक्षामा गोली चलाउँदा तस्करहरू भागेका थिए तर एक तस्करको खुट्टामा गोली लागेको थियो। घाइते तस्करलाई उद्धार गरी माथाभाङ्गा उपजिल्ला अस्पतालमा ल्याइएको छ। घाइते तस्करको अवस्था गम्भीर भएकाले उनलाई राम्रो उपचारको लागि कूचबिहार मेडिकल कलेजमा रिफर गरिएको छ।









