२७ जनवरीः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (केजीएचएसए)-को तत्त्वावधानमा आयोजित खरसाङ शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको दशौं संस्करणमा सिलगढ़ीको रोयल फूटबल क्लब फाइनलमा पुग्यो। खरसाङ नजिक चानमारी खेल मैदानमा आज भएको पहिलो सेमिफाइनल म्याचमा रोयल एफसी-ले एमएमएफसी निरपानीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट इन्द्रजीत छेत्री, करण राई र राजेश सिंघाले गोल गरे। एमएमएफसी निरपानीबाट बोयोमोले १ गोल गरे। रोयल एफसी-का करण राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शनिवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा कालेबुङको दुईवटा टीम युनाइटेड ब्रदर्स र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ। खेलकुद एवम् युवा मामिला विभाग (जीटीए)-को सहयोगमा भइरहेको यस प्रतिष्ठित टुर्नामेण्टमा १२ वटा नामी-दामी टीमहरूलाई स्थान दिइएको छ। टुर्नामेण्टको फाइनल ३० जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








