बानरहाट: बानरहाट बजारस्थित एउटा नालामाथि अवैध रूपमा बनेको पसल अनि घर तोडिएको विरोधमा आज बानरहाट बिहारी सेवा समिति सड़कमा ओर्लिएर विरोध जनाएको छ| बिहारी सेवा समितिको सदस्यहरूको आरोप यो रहेको छ कि पञ्चायत क्षेत्रका धनी अनि बलिया व्यक्तिहरूद्वारा टाइल्स लगाएर अवैध रुपमा नाला अनि फुटपाथलाई दखल गरि बनाएको पसलहरूलाई छोडेर केवल गरीब बिहारी समुदायको पसललाई मात्र तारो बनाएर अभियान चलाएको भनिएको छ| उल्लेखनीय छ, बानरहाटका स्थानीय व्यापारीहरूले गत बुधवार पञ्चायतद्वारा नवनिर्मित नालामा पानी जमिएको विरोधमा जमिएको पानीमा माछा छोडेर प्रतिवाद जनाउदै विरोध गरेका थिए| त्यसपश्चात स्थानीय पञ्चायत अनि जनप्रतिनिधिहरूद्वारा ड्रेन माथि अवैध दखल गरि बनाएको दोकान अनि घर हटाउने अभियान शुरू गरेको थियो|
तर हिजो एक बिहारी समुयादको गरिब परिवारको मात्र घर तोडिदिएकोमा आज बिहारी समुदायले न्यायको माग गर्दै सडकमा ओर्लिएको थियो| समितिका सभापति नवल किशोर गुप्तले भने, विकासको कार्यलाई हामी स्वागत गर्छौ| तर यसरी केवल एउटा गरिब परिवारको मात्र घर तोड्नु अन्याय हो| जसले पनि नाला अनि फुटपाथ दखल गरेका छन् तिनीहरूमाथि पनि कारवाही हुनुपर्ने उनले माग गरे| आज यसैको प्रतिवादमा बानरहाट बिहारी सेवा समितिद्वारा बानरहाट १ नम्बर ग्राम पञ्चायतको प्रधान,खण्ड विकास अधिकारी,बानरहाट पञ्चायत समिति सभापति, जलपाईगढी पुलिस अधीक्षक, तृणमूल कङ्ग्रेस जिल्ला सभापति, हिन्दी प्रकोष्ठ जिल्ला सभापति,बानरहाट ब्लक सभापतिलाई ज्ञापन सुम्पेको छ| बानरहाट एक नम्बर ग्राम पञ्चायत उपप्रधान तबारक अलीले भने, अभियानको तहत दोकान हटाउने अनि तोड़ने घटनाको मामिलाको छानबिन गरिने छ| उनले भने, बजार क्षेत्रमा नयॉं नालाको निर्माण कार्य भइरहेको छ| त्यसैले नालालाई दखल बनाएको दोकानहरू हटाउन जरूरी छ| ग्राम पञ्चायतको तर्फबाट माइकिङ पनि गरेर जानकारी पनि गराएको बताए|