नयाँ दिल्ली: फ्लाइटमा रक्सीको नशामा रहेका दुई दाजुभाइले चर्को हंगामा मच्चाए। दुवैले एकअर्कालाई कुटपिट र लातघुस्सी हानाहान गरे। अवस्था यस्तो बन्यो कि विमानभित्रै यी मध्ये एक भाइले अर्कोमाथि पिसाब गरिदिए। उनीहरु साउथ ईस्ट लण्डनका बासिन्दा रहेको बताइएको छ। एयरलाइन्सले दुई भाइहरूलाई ४८ लाख रुपियाँ (£५०,०००) भन्दा बढी जरिवाना लगाए र आजीवन उडानमा प्रतिबन्ध लगाए। रिपोर्टका अनुसार यो घटना गत १२ मईको हो। जहाँ जेट–२ को उडान लण्डनको स्टान्स्टेड विमानस्थलबाट ग्रीसको क्रेटतर्फ गइरहेको थियो। उक्त सम्पूर्ण घटनाको भिडियो विमान भित्रका यात्रुले रेकर्ड गरेका थिए। यद्यपी यी यात्रुको परिचय भने खुलाइएको छैन। भिडियोमा ग्रीसका पुलिस अधिकारीहरूले एकजना भाइलाई तल झारेको देखिन्छ। एक यात्रुले भने कि उडानका कर्मचारीले यी दुई दंगालु भाइ बसेका सिट नजिकै भोड्काका खाली बोतल पनि फेला पारेका थिए। फ्लाइट भित्र दुवै दाजुभाइ आपसमा झगडा पनि गरिरहेका थिए। यी दुवैका यी हर्कतबाट विचलित भएर जेट–२ एयरलाइन्सका पाइलटले यी भाइहरूलाई अवतरण गराउनका लागि कोर्फु (ग्रीस देशको सहर) उडान भर्नुपरेको थियो। यी दुई दाजुभाइको यस्तो कार्यबाट २०० यात्रु त्रसित भए। सोही क्रममा उडान पनि करिब साढे चार घण्टा ढिलो भएको थियो।