पटना: बिहारका चर्चित पत्रकार राजदेव रञ्जन हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान एजेन्सी (सीबीआई)को अनौठो घटना सार्वजनिक भएको छ। घटनामा सीबीआईले मृत घोषित गरेका गवाही जिउँदै रहेको प्रमाण लिएर अदालत पुगेका थिए। गवाहीले अदालतमा हाजिरी पाना र आधार कार्ड बुझाए। यसबारे अदालतले सीबीआईसँग जवाफ माग गर्दै आउँदो २० मईका लागि तोकेको छ। वास्तवमा पत्रकार राजदेव रञ्जन हत्या प्रकरणमा सीबीआईले अनुसन्धान गरिरहेको छ। सन् २०१६ मा हिन्दी पत्रकार रञ्जनलाई पाँच आक्रमणकारीले गोली हानी हत्या गरेका थि । मई २०१६ मा बिहार सरकारले हत्याको अनुसन्धान गर्न सीबीआईलाई सिफारिस गरेको थियो। सीबीआईले १५ सेप्टेम्बर २०१६ मा मुद्दा दर्ता गरेको थियो। हालै सीबीआईले बदामी देवी नामका गवाहीलाई सोधपुछका लागि अदालतसँग समन मागेको थियो। बदामी देवी सिवानको कासेरा टोलीमा बस्छिन्। अदालतले बदामी देवीलाई सीबीआईले सोधपुछ गर्न समन जारी गरेको थियो। मई २४ मा सीबीआईले बदामी देवीलाई मृत घोषित गर्दै अदालतमा प्रतिवेदन पेश गरेको थियो। सोही क्रममा बदामीदेवीले आफूलाई कसैले सम्पर्क नगरेको बताइन् तर आफूलाई मृत घोषणा गरेको खबर पाएपछि सिधै अदालत पुगिन्। राजीव रञ्जन हत्या प्रकरणको सुनुवाइ सिवानको अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश–१ पुनीत गर्गको विशेष सांसद/विधायक अदालतमा चलिरहेको छ।