म आफ्नो करियरको अन्तिम चरणमा छुः सुनिल छेत्री

IMG-20220604-WA0106.jpg

४ जूनः भारतीय फूटबल टीमका चमत्कारी कप्तान सुनिल छेत्रीले फेरि एकपल्ट अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको संकेत दिएका छन्। उच्चतम न्यायालयद्वारा प्रफुल्ल पटेललाई अखिल भारतीय फूटबल महासंघ (एआईफएफ)-को अध्यक्ष पदबाट हटाइएपछि फीफाले भारतमाथि प्रतिबन्ध लगाउने सम्भावना सृष्टि भएको छ। सुनिल छेत्रीले बताएअनुसार, फीफाको प्रतिबन्ध नोक्सानदायक साबित हुन सक्छ कारण उनी अहिले आफ्नो अन्तिम म्याचहरू खेलिरहेका छन्। गत केही समयदेखि ३७ वर्षीय सुनिलको सन्न्यासलाई लिएर अड़कलबाजी चलिरहेको छ अनि उनले पनि धेरैपल्ट आफ्नो स्वर्णिम करियरमा चाँड़ै विराम लगाउने संकेत दिएका छन्। आठ जूनदेखि शुरु हुने एशियाई कप क्वालीफायरको अन्तिम राउण्डअघि बोल्दै सुनिल छेत्रीले भने, यस मामिलामा जे भइरहेको भए पनि सबैथोक नियन्त्रणमा रहेको अनि देशमाथि प्रतिबन्ध नलाग्ने आशा गरेको छु। फीफाले प्रतिबन्ध लगाए त्यो नोक्सानदायक हुनेछ। सम्पूर्ण देशको निम्ति मात्र नभएर मेरो निम्ति पनि कारण म अहिले ३७ वर्ष पुगिसकेको छु अनि आफ्नो करियरको अन्तिम चरणमा रहेको छु। मेरो कुन म्याच अन्तिम हुनेछ भन्ने थाहा छैन।
उच्चतम न्यायालयले १८ मईमा पटेललाई एआईएफएफ अध्यक्ष पदबाट हटाएको थियो कारण उनले आफ्नो कार्यकाल बढ़ाएका थिए। एआईएफएफ-मा उनको तेस्रो कार्यकाल दिसम्बर २०२०-मा समाप्त हुनु थियो तर उनी उच्चतम न्यायालयको एउटा मामिलामा आदेशको प्रतीक्षामा पदमा कायम रहे, जुन २०१७-देखि लम्बित छ। देशको खेल महासंघमाथि बाहिरी हस्तक्षेपको मामिलामा फीफाले प्रतिबन्ध लगाए यस साल हुने अण्डर-१७ महिला विश्व कपको आयोजन अधिकार भारतबाट खोसिन सक्छ। फीफा र एशियाई फूटबल परिसंघ (एएफसी)-को संयुक्त टीम वर्तमान परिस्थितिलाई बुझ्न चाँड़ै भारत यात्रामा आउनेछ। सुनिल छेत्री खेल्नको निम्ति मैदानमा ओर्लिनको साथ उनको सन्न्यासलाई लिएर अड़कलबाजी शुरु हुनेछ। यसबारे उनले भने, अहिले नै यस्तो केही हुनेछैन। गत एशिया कप (२०१९)-मा पनि मसँग सन्न्यासबारे प्रश्न गरिएको थियो। अहिले पाँच साल बितिसकेको छ। अहिले पनि त्यही प्रश्न अघि आइरहन्छ। त्यस समय म ३२-को थिएँ भने अहिले ३७-३८ वर्षको छु। यसबारे म केही भन्न सक्दिनँ। अहिले त म खेलको मजा लिइरहेको छु। जुन दिन खेलको मजा लिन सक्दिनँ त्यस दिन समय (सन्न्यासको) आउनेछ। म तारिख तोक्न चाहिँ सक्दिनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement