फ्रेञ्च ओपनः ज्वेरेवको चोटपछि नडाल फाइनलमा, रुडसँग भिड़न्त तय

photocollage_20226410435372.jpg

४ जूनः रेकर्ड १३ पल्टका च्याम्पियन रफायल नडालले फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाए। सेमिफाइनलमा उनका प्रतिद्वन्द्वी जर्मनीका एलेक्जेण्डर ज्वेरेव चोट लागेर खेल छोड़्न वाध्य भए। यसरी स्पेनिश दिग्गजले रेकर्ड १४औं पल्ट रातो माटोमा खेलिने यस ग्राण्ड स्ल्यामको फाइनलमा स्थान बनाए। चोटले गर्दा ज्वेरेवले खेल छोड़्दासम्म म्याचमा नडार ७-६ (१०-८), ६-६-ले अघि रहेका थिए। ज्वेरेवले देब्रे खुट्टाको चोटले गर्दा दोस्रो सेटको अन्तिम चरणमा नखेल्ने फसेला गरे। वक् ओभर प्राप्त भएपछि नडाल फ्रेञ्च ओपनको इतिहासमा फाइनलमा पुग्ने दोस्रो सबैभन्दा अधिक उमेरका खेलाड़ी बने। अब उनी टुर्नामेण्टको इतिहासमा सबैभन्दा अधिक उमेरका विजेता बन्ने कोशिष गर्नेछन्। नडालले १९ सालको उमेरमा आफ्नो पहिलो फ्रेञ्च ओपन ट्रफी जितेका थिए अनि अहिले ३६ सालको उमेरमा १४औं पल्ट फ्रेञ्च ओपन अनि समग्रमा २२औं ग्राण्ड स्ल्याम खिताब जित्ने प्रयास गर्नेछन्।
नडाल र ज्वेरेवबीच म्याच आशानुरुप चरम रोमाञ्चक र प्रतिस्पर्धी रह्यो, जसको पहिलो सेट नै डेढ़ घण्टासम्म चल्यो। पहिलो सेट नडालले टाई ब्रेकरमा ७-६-ले जिते। दोस्रो सेट पनि टाईब्रेकर तर्फ अग्रसर थियो तर ज्वेरेव बेसलाइनमा लड़े अनि खुट्टा पक्रिएर कराउन थाले। एकजना ट्रेनर र नडाल तुरन्तै उनको नजिक गए। त्यहाँबाट ज्वेरेवलाई व्हीलचेयरमा बसाएर बाहिर लगियो। धेरै मिनटपछि उनी बैसाखीको सहारा लिएर कोर्टमा आए अनि उनले म्याच छोड़्ने घोषणा गरे। त्यसपछि उनले चेयर अम्पायरसँग हात मिलाएर नडाललाई अँगालो हाले। नडाल पनि देब्रे खुट्टाको चोटसँग जुझिरहेका छन् तर २५ वर्षीय ज्वेरेव विरुद्ध उनको खेलमा उमेर, चोट या थकान सम्बन्धित कुनै समस्या देखिएन।
अब फाइनल म्याचमा नडालको भिड़न्त नर्वेका स्टार खेलाड़ी कास्पर रुडसँग हुनेछ। यस युवा खेलाड़ीले आफूभन्दा धेरै अधिक शक्तिशाली मानिएका क्रोएशियाई खेलाड़ी मारिन सिलिचलाई २ घण्टा ५५ मिनटसम्म चलेको म्याचमा पराजित गरी फाइनलमा स्थान बनाएर इतिहास रचे। सिलिच २०१४-को यूएस ओपनका विजेता हुन् तर रुड विरुद्ध उनको कुनै शीप चलेन। सेमिफाइनलमा रुडले सिलिचलाई ३-६, ६-४, ६-२, ६-२-ले पराजित गरे। रुडको यो पहिलो ग्राण्ड स्ल्याम फाइनल हो। उल्लेखनीय छ, फ्रेञ्च ओपनमा नडालको असाधारण सफलताले गर्दा उनलाई रातो माटोको बादशाह भनिन्छ। नडालले रोलाँ ग्यारोमा अहिलेसम्म केवल तीनवटा म्याच हारेका छन्। २००९-मा उनी चौथो राउण्ड, २०१५-मा क्वार्टर फाइनल र २०२१-मा सेमिफाइनलमा पराजित भएका थिये। २०१६-मा चाहिँ नाड़ीको चोटले गर्दा तेस्रो राउण्डको म्याच खेल्न ओर्लिएका थिएनन्। तीनमा दुईपल्ट नडाललाई नोवाक जोकोविचले पराजित गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement