खरसाङ: नक्सबारी निवासी वरिष्ठ साहित्यकार तथा गोर्खा जन पुस्तकालय खरसाङका आजीवन सदस्य जय प्रसाद दाहालको निधनमा भारती गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्तकालय खरसाङद्वारा शोक सभा गरेर श्रध्दाञ्जली अर्पण गरेका छन्। पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरूपमको अध्यक्षतामा शोक सभा आयोजना गरी उनको सामाजिक र साहित्यिक योगदानहरूका सम्झना गर्दै श्रद्धाञ्जली व्यक्त गरियो। उक्त सभामा उपस्थित सभापति पूर्ण गुरुङ, मूल सचिव विनोद रसाइली, उप सभापति प्रकाश प्रधान, कोषाध्यक्ष निरङ्कर थापा, वरिष्ठ समाजसेवी तथा गोजपुका पूर्व अध्यक्ष तिलक शर्मा लगायत अन्य सदस्यहरूले स्वर्गीय दाहालको नेपाली भाषा मान्यता, विभिन्न ठाउँहरूमा रहँदा स्थापित स्कूल र साहित्य क्षेत्रमा रहेका बहुमूल्य योगदानहरूका उल्लेख गर्दै आफ्नो शोक समवेदना व्यक्त गरेका छन्। स्मरणीय रहोस् स्वर्गीय जयप्रसाद दाहालको जन्म खरसाङको अम्बटे चियाबारीमा ५ अप्रेल १९३८ मा भएको थियो अनि उनी भारतीय रेलवेमा भर्ती भई असमका विभिन्न क्षेत्रमा सरुवा हुँदा सामाजिक र साहित्य क्षेत्रमा पुऱ्याएको योगदान अविस्मरणीय छ। असममा अखिल भारतीय नेपाली भाषा समितिका सचिव रहिसकेका दाहाल त्यही ठाउँमा नेपाली बुनियाँदी पाठशाला स्थापना गर्न अहम् भूमिका निर्वाह गरेका थिए भने नक्सलबारीमा हालमा मान्यताप्राप्त नेपाली उच्चतर माध्यमिक विद्यालयको स्थापनाकालमा उनी सचिव पदमा रही निर्वाह गरेका भूमिका उल्लेखनीय छ। उनी निरुद्देश्य चुपचाप बस्ने खालका व्यक्ति थिएनन्। विभिन्न पत्र पत्रिका सम्पादन र विभिन्न पत्रिकाहरूमा उनका अनगिन्ति रचनाहरू, आफ्नै सङ्कलन र सम्पादनमा प्रकाशित कथा सङ्ग्रह ‘नयाँ घुम्ती ‘र आफ्नो मौलिक कथा सङ्ग्रह ‘स्मृति-विस्मृति’-ले उनको साहित्यिक संलग्नता र सक्रियताबारे पुष्टि गर्दछ।अनुवाद साहित्य र आध्यात्मिक साहित्यबारे गहन रूचि रहेको कुरो पनि प्रकाशित कृतिहरुबाट अनुमान लगाउन सकिन्छ।

हालैमा उनको एक अनुदित कृति ‘गोरखा फ्रिडम फाइटर्स’ यस वर्षको गणतन्त्र दिवसको दिन विमोचन हुन लागिरहेको सुखद् खबर पाएका थियौँ तर दुःखको कुरो यस कृति विमोचन हुनुअघि नै उनी आफ्नो अर्धाङ्गिनीसहित दूई छोरी, एक छोरा र पाँच नातिनातिनाहरूलाई छाडेर ब्रह्मलीन हुनुभयो।परिवारको निम्ति मात्र नभएर सारा गोर्खा समाज र साहित्यको निम्ति यो घटना अत्यन्त पीडादायी र अपुरणीय क्षतिको रूपमा स्मरणीय रहनेछ ।यस कष्टकर घडीलाई थेग्नसक्ने ईश्वरले उनको परिवारलाई शक्ति दिऊन् अनि उनको आत्माले मोक्ष प्राप्त गरून् भन्ने प्रार्थना गर्दै उक्त शोकसभामा श्रद्धाञ्जली स्वरूप एक मिनटको मौन धारण गरियो।परिवार सूत्रका थाहा लागे अनुसार उक्त पुस्तक उनको अन्त्येष्टी क्रिया ३ फरवरीको दिन नै उपस्थित व्यक्तिहरूका माझमा विमोचन हुने जानकारी गराइएको छ साथै परिवारले उक्त दिन सबै इष्टमित्र, बन्धुबान्धव, साहित्यकर्मी र मलामीमा उपस्थित सहयात्रीहरूलाई उपस्थितिको निम्ति कामना गरेको छ जानकारी गोर्खा जन पुस्तकालय खरसाङको मूल सचिव -विनोद रसाइलीले दिएका छन्।









