गान्तोक। बाल श्रम अनि शिक्षाको अधिकारमाथि केन्द्र गर्दै एनएन प्रोडक्सनद्वारा निर्मित लघु चलचित्र “छोटु द अनटोल्ड ट्रूथ’को आज विधिवत रूपमा लोकार्पण गरियो। बाल श्रममाथि आधारित यस फिल्मको आज मुख्य अतिथिको रूपमा उपस्थित राज्यका स्वास्थ्यमन्त्री डा. एमके शर्मा, विशिष्ठ अतिथि मन्त्री सञ्जीत खरेल, सुष्मा गुरुङ आदिको बाहुलीबाट लघु फिल्मको पोस्टर पनि लोकार्पण गरियो।
छोटू नामक एक बाल श्रमिकलाई केन्द्रित यो चलचित्रमा राज्यका मन्त्री डा. एमके शर्माले पनि मन्त्रीकै भूमिका निर्वाह गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि डा. एम के शर्माले बाल श्रम अनि शिक्षाको अधिकारबारे अगावै ऐन बनिसकेको उल्लेख गर्दै यो विषय समवेदनशील रहेको बताए। जागरूकताको सन्देश सबैभन्दा उत्कृष्ट ढंगमा कलाकारले नै दिनुसक्ने मन्त्रीले थपे। जागरूकतामा क्रान्ति नै आउन आवश्यक रहेको मन्त्री शर्माले महसुस गरे। सबैको मन छोए क्रान्ति निश्चित रहेको अनि सबैको मन छुन छोटुले सक्ने र प्रत्येक छोटुहरू शिक्षित हुन आवश्यक रहेको उनले थप मन्तव्य साझा गरे। नानीहरूमा धेरै सम्भावना रहेको उल्लेख गर्दै मन्त्री शर्माले ती सम्भावनाहरूलाई सहयोग गर्नुपर्ने मन्त्री शर्माले जानकारी गराए।
फिल्मका निर्माता निर्मल भट्टराईले छोटु द अनटोल्ड स्टोरीबारे बोल्दै बाल शिक्षा नै यो फिल्मको मुख्य केन्द्रबिन्दु रहेको जानकारी गराए। फिल्ममा कलाकारहरूको रूपमा दिपक ढकाल, रेवती लेप्चा, नित्यन भट्टराई, अपेक्षा थापा, केबी थापा, सुरेश प्रधान रहेका छन्।
कार्यक्रममा मुख्य अतिथि डा. एमके शर्मा अनि विशिष्ट अतिथि मन्त्री सञ्जीत खरेल अनि सुष्मा प्रोडक्सनका प्रमुख सुष्मा गुरुङको बाहुलीबाट लघु फिल्मका कलाकारहरूलाई अभिनन्दन जनाइयो।
आजको कार्यक्रममा फिल्म निर्माता अनि निर्देशक एवं सिक्किम कलाकार संघका अध्यक्ष चुन्नीलाल घिमिरे, नाटककार रञ्जीत सिंह, फिल्म निर्माता साम्तेन भोटिया, धर्म प्रोडक्सनका प्रमुख पबिरत्न शाक्य, कलाकार दिपंकर शाक्य, डा. भरत वशिष्ठ, कलाकार तिमोथी राई, रुपा तामाङ ठटाल, नरेश तामाङ, शाहिद हुसैन लगायत अन्यलाई एनएन प्रोडक्सनद्वारा अभिनन्दन जनाइयो।