गान्तोक। राज्यका विद्युत एवम ऊर्जा विभाग,श्रम विभाग मन्त्री एमएन शेर्पाले आज जेनरोडस्थित सात माइलमा क्षेत्र विधायक कर्मा लोडे भोटियाको उपस्थितिमा सिक्किम श्रमिक विश्राम गृहको उदघाटन गरे। १ करोड १७ लाख रूपियाँको लागतमा निर्माण गरिएको उक्त घरको विधिवत उदघाटन गर्दै मन्त्री शेर्पाले श्रमिकहरूको निम्ति समर्पित गरे। आज उदघाटन गरिएको यो भवनमा विशेष गरेर भवन निर्माण साथै अन्य निर्माण कार्यमा संलग्न पञ्जीकृत श्रमिकहरूले आपतकालिको समयमा निःशुल्क बस्न पाउने मन्त्री शेर्पाले बताए। आफ्नो सम्बोधनमा मन्त्री शेर्पाले वर्तमान सरकारले श्रमिकहरूको निम्ति विभिन्न प्रकारको सुविधा साथै सहुलियत उपलब्ध गराउँदै आइरहेको जानकारी गराए। राज्यमा पञ्जीकृत श्रमिकहरूको निम्ति सरकारले पेन्सन,मातृत्व, विरामी, काम गर्दै गरेको समयमा दुर्घटनामा परि मृत्यु हुने श्रमिकहरूको हितमा पनि विभिन्न प्रकारको सुविधा प्रदान गर्दै आइरहेको र अझ धेरै योजनाहरू बनाउने अवगत गराए। सिक्किम राज्यमा दसवर्षसम्म काम गरेका श्रमिकहरूलाई पेन्सनकोरूपमा सरकारले ५ लाखसम्म प्रदान गर्ने प्रावधान बनाएको छ। यसरी नै सरकारले हालै न्यूनतम वेतन १५ हजार बनाउने घोषणा गरेको र शीघ्र उक्त योजनालाई कार्यन्वयन गरिने आश्वासन दिए। आज उदघाटन गरिएको घर राज्यमा बाहिरबाट आउने पञ्जीकृत श्रमिकहरूको निम्ति रहेको र आपतकालिन साथै प्रकृतिक प्रकोपको समयमा उक्त भवनमा उनीहरूलाई बस्ने छुट दिएको जनाए। अबोप्रान्त श्रमिकहरूको कार्यस्थलमा नै स्वास्थ्य जाँच शिविर आयोजना गरे उनीहरूलाई स्वास्थ्य सुविधा उपलब्ध गराइने र यसको निम्ति प्रक्रिया चलिरहेको बताए। यस भवनमा श्रमिकहरूको निम्ति सिलाइ बुनाइ मशिन पनि राखिएको हुनाले फूर्सदको समयमा आएर मशिनको काम सिक्न सक्ने र सिकिसकेपछि उक्त मशिन श्रमिकहरूलाई पनि प्रदान गरिने पनि मन्त्रीले घोषणा गरे। यस कार्यक्रम अन्तर्गत भवन निर्माणमा जुटेका २० जना श्रमिक र ग्रेफमा कार्यरत पञ्जीकृत २० जना श्रमिकलाई आर्थिक सहयोग पनि प्रदान गरियो भने आज नै मन्त्रीको बाहुलीबाट श्रमिकहरूको निम्ति हेल्थ कार्डको पनि विमोचन गरियो। आज विमोचन गरिएको हेल्थ कार्डमा उनीहरूको विवरण रहने भएकोले अन्य अस्पतालमा जाँच गर्दा त्यहाँका चिकित्सहरूलाई सहज हुने बताए। उनले श्रमिकहरूलाई कुनै अरूको कुरामा विश्वास नगर्ने आग्रह गर्दै श्रमिकहरूको हितमा श्रम विभाग सदैव साथमा रहने बचन दिए। कुनै पनि समस्या भएको खण्डमा श्रम विभागका अधिकारीको जानु पर्ने अपील गरे। श्रमिकहरू विभागको निम्ति मेरूदण्ड भएको कारण श्रमिकहरूलाई कुनै पनि अन्याय अत्याचार भएमा विभाग श्रमिकहरूको साथमा खडा रहने मन्त्री शेर्पाले बचन दिए।

यसै क्रममा क्षेत्र विधायक कर्मा लोडे भोटियाले यस क्षेत्रका मानिसहरू विशेष गरेर प्रोपोकाण्डमा विश्वास गर्दै आइरहेको बताए। तर यहाँका मानिसहरूलाई कुनै पनि समस्या भएमा सुनेको कुरामा विश्वास नगरेर सोझै आफूसँग भेट गरेर स्पष्ट हुने आग्रह गरे। कोरोनाकालमा यस क्षेत्रमा कार्यरत मजदुरहरूको निम्ति आफूले धेरै सहयोग पुऱ्याएको दावी गरे। तर केही मानिसहरूले मन्त्रीले कुनै सहयोग नगरेको अफवाह फैल्याएर सोझा जनतालाई दीगभ्रमित तुल्याएको किटान गरे। वर्तमान सरकारले छोटो अवधिमा विभिन्न क्षेत्रमा सुधारका काम सहित विकासीय योजनाहरू ल्याएको जानकारी गराए। मन्त्री भोटियाले श्रमिक हुँ भनेर आफूलाई कहिल्यै पनि सानो नसोच्ने बताउँदै लक्ष्य राखेर काम गरेको खण्डमा अवश्य पनि उपलब्धि हासिल गर्न सकिने जनाए। प्रजातन्त्रमा श्रमिकका छोरा-छोरी पनि ठूलो ओहदामा पुग्न सक्ने थप जानकारी गराए। यस अवसरमा श्रमिकहरूको निम्ति स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो, जुन मन्त्री भोटियाले उदघाटन गरे।