पाकिमः मुख्यमन्त्री प्रेमसिंह तामाङले मेरो रूख, मेरो सम्पत्ति योजना घोषणा गरेका छन्। यस योजना अन्तर्गत प्रत्येक नवजात शिशुको नाममा एक सयवटा रूखका विरुवा लगाइने छ। मुख्यमन्त्री तामाङले आज आफ्नो नियमित दैलोमा प्रशासन पहलअन्तर्गत नाथाङ- माछोङ निर्वाचन क्षेत्रका जनतासँग भेट गरे। पाकिमको सामुदायिक हलमा आयोजित जनता भेट कार्यक्रम अवधि मुख्यमन्त्रीले मेरो रूख, मेरो सम्पत्ति योजना घोषणा गरेका हुन्। उनले वन विभागलाई राज्यमा प्रत्येक पञ्जीकृत नवजात शिशुको नाममा एक सयवटा रूखका विरुवा लगाउन निर्देश पनि दिए। उनले प्रकृतिमा सन्तुलन कायम राख्न सो योजना घोषणा गरिएको बताए।
कार्यक्रममा उपस्थित क्षेत्रका जनलालाई सम्बोधित गर्दै मुख्यमन्त्रीले यो कार्यक्रम सुदूर क्षेत्रका जनताको सुविधालाई ध्यानमा राखेर आयोजना गरिएको बताए। उनले आजको कार्यक्रम केवल नाथाङ -माछोङ निर्वाचन क्षेत्रको निम्ति रहेको स्पष्ट गरे। राज्य सरकारले जन हितमा शुरू गरेका विभिन्न योजनाहरूमाथि प्रकाश पार्दै उनले प्रजनन दरलाई लिएर सरकारका योजनाहरूबारे पनि जानकारी गराए। आजको कार्यक्रममा क्षेत्र विधायक डीटी लेप्चा, रिनाकका विधायक विष्णु खतिवडा, नाम्चेबुङका विधायक एम प्रसाद शर्मा तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।










