बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-ले रवीन्द्र मुक्त विद्यालयको स्टडी सेन्टर (अध्ययन केन्द्र)-को रूपमा मान्यता प्राप्त गरेको छ। मेमो संख्या ३४०/डब्ल्युबीसीआरओएस/बीबी/एपी/२०२० अन्तर्गत १० मई, २०२२ को मितिमा बाउमावि-का लागि स्टडी सेन्टर अनुमोदित गरिएको विद्यालयका प्रधानाध्यापक सागर शर्माले जानकारी दिएका छन्। यो स्टडी सेन्टरबाट अब ड्रपआउट विद्यार्थीहरूले घरमै बसेर माध्यमिक परीक्षा लेख्न सक्नेछन् जसको शैक्षिक मूल्य पश्चिम बंगाल माध्यमिक परीक्षाको समतुल्य (इक्विभेलेन्ट) हुनेछ। आगामी केही दिनमा यसको भर्ना पनि शुरु हुनेछ। विद्यालयमा फारम भरेको एक वर्षपछि विद्यार्थीहरूले परीक्षा दिन सक्नेछन्। शैक्षिक क्षेत्रको विकासमा नयाँ-नयाँ पहल र प्राप्तिहरू गरिरहेको बाउमावि-ले रवीन्द्र मुक्त विद्यालयको स्टडी सेन्टरको रूपमा मान्यता पाएपछि चिया बगान क्षेत्रका ड्रपआउट विद्यार्थीहरूले सुनौलो अवसर पाउनेछन् भने उनीहरूका भविष्यमा नयाँ सम्भावना देखा पर्नेछ। क्षेत्रकै निम्ति यो ठूलो प्राप्ति हुने आशा गरिएको छ।
प्रधानाध्यापक सागर शर्माका अनुसार, पश्चिम बंगाल रवीन्द्र मुक्त विद्यालय (डब्ल्युबीसीआरओएस) स्टडी सेन्टरको लागि पर्षदलाई आग्रह गर्नअघि विद्यालयले दश सदस्यीय टोली बनाएर बाग्राकोट ग्राम पञ्चायत क्षेत्र, पश्चिम डुवर्सका विभिन्न वनवस्ती र चियाकमान अनि हिमालफेदीका वस्तीहरूमा एउटा सर्वे गरेको थियो। सर्वेमा धेरै विद्यार्थीहरू ड्रपआउट भएर घरमै बसेको र अध्ययनको कुनै मेलो-मेसो नपाएको टोलीले थाहा पायो। यसको मुख्य कारण आर्थिक समस्या रहेको देखियो। विद्यालयले नि:शुल्क शिक्षाको प्रस्ताव गर्दा पनि ती ड्रपआउट विद्यार्थीहरू स्कूल आउन सकेनन्। उनीहरू आफै काम नगरी जीवन धान्न नसक्ने भएकोले नियमित स्कूल आउन नसक्ने देखियो। विद्यालय कतृपक्षले यो सम्पूर्ण स्थितिको विवरणसहित सर्वे रिपोर्ट डब्ल्युबीसीआरओएस-लाई पठाएपछि पर्षद्ले बाउमावि-लाई एउटा स्टडी सेन्टरको रूपमा मान्यता दिने निर्णय लिएको थाहा लागेको छ। प्रधानाध्यापकको पहलमा अब विद्यालले एक आधिकारिक केन्द्रको दर्जा प्राप्त गरेको छ। यस विद्यालयको पाठ्यक्रम माध्यमिकको समतुल्य हुनेछ अर्थात् विद्यार्थीहरूले नेपाली, अंग्रेजी, गणित, जीव विज्ञान, भौतिक विज्ञान, भूगोल, इतिहास आदि विषयको परीक्षा लेख्न पाउनेछन्, जहाँ एडिसनल सब्जेक्ट हुनेछैन। कुनै विद्यालयबाट लगातार माध्यमिक दिएका तर एउटा/दुईवटा विषय फेल भएका विद्यार्थीले उक्त निर्दिष्ट विषयको मात्र पनि परीक्षा लेख्न सक्नेछन्, जहाँ पास भएका अन्य विषयहरूलाई क्रेडिट ट्रान्सफर माध्यम अंकहरू समायोजन गरी पूर्ण परिणाम प्रदान गरिनेछ। यस केन्द्रबाट परीक्षा दिन ड्रपआउट विद्यार्थीहरूका लागि अनेकौं सुविधा र सहजता उपलब्ध गराइएको छ। परीक्षा अंग्रेजी माध्यमबाट लेख्न पर्नेछ। बाउमावि-ले यसको निम्ति हप्तामा दुई दिन र छुट्टीका दिनहरू पारेर क्लास सञ्चालन गर्नेछ। इच्छुक विद्यार्थीहरूले स्कूलमा गएर क्लास लिन सक्नेछन्, तर यो अनिवार्य भने छैन। विद्यार्थीहरू घरै बसेर परीक्षा लेखेर पनि माध्यमिक इक्विभेलेन्ट र समान भेल्यूको सर्टिफिकेट पाउन सक्नेछन्। आगामी केही दिनभित्रमा नयाँ सत्रको निम्ति भर्ना खुल्नेछ। यसको निम्ति सोझै विद्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ।
उल्लेखनीय छ, भर्खरै बाउमावि-मा कमर्स शाखा सञ्चालनको घोषणा गरिएको छ भने उच्चतर माध्यमिकमा एउटा विषय गणितको पनि विद्यार्थीहरूलाई प्रस्ताव गरिएको छ। लामो समयदेखि कमसल पूर्वाधारसँग जुझ्दै आएको बाउमावि-ले प्रतिकूल परिस्थिति र विद्यार्थीहरूको चर्को भार बोकेर पनि नयाँ-नयाँ उपलब्धिहरू हासिल गर्दै आएको छ, जसबाट अभिभावक तथा क्षेत्रका सचेत मानिसहरू उत्साहित बनेका छन्। विद्यालयको लगातारको पहलले अभिभावकवर्गमा नयाँ आशा सञ्चार गरेको पाइएको छ।










