राजफाप्री वरियर्स क्लबको तत्त्वावधानमा आयोजित फर्स्ट विण्टर कप नक्आउट फूटबल टुर्नामेण्ट (अण्डर १७ र भेटरन्स)-को फाइनल सोमवार सम्पन्न भयो। सहायक फाउण्डेशनको साथ मिलेर आयोजन गरिएको यी दुईवटा टुर्नामेण्टको अण्डर-१७ वर्गमा युनाइटेड सिक्किम फूटबल एकाडमी च्याम्पियन भयो। यसरी नै भेटरन्स (फोर्टी प्लस)-मा लाटपञ्चर भेटरन्स च्याम्पियन भयो। सालुगढ़ा नजिक खोलाचन्द फाप्री खेल मैदानमा भएको अण्डर-१७ टुर्नामेण्टको फाइनलमा युनाइटेड सिक्किम फूटबल एकाडमीले सिलगढ़ी युनाइटेड फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो।

यसरी नै भेटरन्स वर्गको फाइनलमा लाटपञ्चर भेटरन्सले मनजीत सिंह भेटरन्सलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। अण्डर-१७ वर्गमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २२ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। भेटरन्स वर्गमाच्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। अण्डर-१७ वर्गमा युनाइटेड सिक्किम एफए-का कुंगा टासीले प्लेयर अव् द टुर्नामेण्ट, आकाश रोयले बेस्ट गोलकीपर र उर्गेन भूटियाले एमर्जिंग प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते। सिलगढ़ी युनाइटेड फूटबल एकाडमीका राहुल छेत्रीले हाईएस्ट स्कोररको पुरस्कार जिते।

यसरी नै भेटरन्समा मनजीत सिंहले प्लेयर अव् द टुर्नामेण्ट र दीप छेत्रीले हाईएस्ट स्कोररको पुरस्कार जिते। टुर्नामेण्टको अन्तिम दिन अण्डर-१७ वर्गमा एउटा प्रदर्शनी म्याच पनि आयोजन गरिएको थियो, जसमा राजफाप्री वरियर्सले लिम्बु बस्ती एफसी-लाई पराजित गऱ्यो। फाइनलमा अतिथिको रूपमा खेल सामग्री निर्माता कम्पनी सिल्को-का कर्णधार खोकन भट्टाचार्य, समाजसेवी बीबी बिश्वकर्मा, गौरव भट्टाचार्य, बिनी शर्मा, प्रिया छेत्री, बिर्जु लिम्बु, रवि सिंह, टासी भूटिया, हिस्से भूटिया र चेतन जैनको साथमा अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो।

टुर्नामेण्टलाई सफल बनाउनमा आयोजक राजफाप्री वरियर्स क्लबका अध्यक्ष समीर प्रधान, सचिव रुपेश थापा, मनोज पुन र कुमार तामाङको साथमा अन्य सदस्यहरूका सक्रिय योगदान रह्यो।










