सिलगढी: डुवर्सको लुकसानमा चलिरहेको खस भारतीय हितकारी सम्मेलन केन्द्रीय कमिटीद्वारा आयोजित त्रिवार्षिक महाअधिवेशनमा सांसद राजु बिष्टले सोमबार भाग लिएका छन्l आफूले लिएको कार्यक्रमबारे उनले प्रेस विज्ञप्ति जारी गरेर सो कार्यक्रममा लिन पाउनु आफ्नो सौभाग्य बताएका छन्l यो संगठन सन् १९४५ मा ‘हितकारी सम्मेलन’को रुपमा पण्डित धरणीधर शर्मा कोईराला र सुर्यविक्रम ज्ञवालीले गोर्खा जाति कल्याण कार्यहेतु गठन गरेको उनले बताएका छन्। ‘हितकारी सम्मेलनले सन् १९५० को दशकदेखि नै गोर्खा जातिको सेवा गर्दै आएको इतिहास छ। हितकारी सम्मेलनका संस्थापकहरुले जात होइन जातिलाई महत्व दिएका थिए र आज यो संगठनलाई यति गौरवमय र उच्च स्थानमा उभ्याउनु भएका सबै पदाधिकारी अनि सदस्यहरूमा म साधुवादका जनाउँदछु’, उनले विज्ञप्तिमा भनेका छन्।

विज्ञप्तिमा उनले अझ यसो भनेका छन्, ‘हाम्रो देश विभिन्न जाति, धर्म, आस्था र संस्कृतिको एउटा साझा फुलबारी हो, र हरेक फुलको आफ्नै सुन्दर रुप, रङ्ग अनि सुवास छ। हाम्रो गोर्खा जाति पनि यसको अपवाद होइन। विभिन्न जात-जाति र भाषिक समुदायले मिलेर बनेको हाम्रो वीर गोर्खा जाति हो। भारत भरि छरिएर बसेका हामी गोर्खाहरुका आफ्नै भाषा र बोलीहरु छन्, तर एक-अर्कासँग मनको बह साटासाट गर्न हामी गोर्खा भाषाको प्रयोग नै गर्दछौँ वा भनौ खस भाषामा कुरा गर्दछौँ, जसलाई आज नेपाली/गोर्खा भाषा भनेर चिनिन्छ। सिङ्गो गोर्खा जातिको शक्तिका स्रोतहरु भनेका नै यी सबै जात-जाति र भाषा-भाषी हौँ, हामी भित्रका सबै जात-जाति, भाषा र संस्कृतिको विकास र संरक्षण गरेर मात्रै हाम्रो सम्पूर्ण गोर्खा जाति सशक्त हुनसक्छl’