कालचिनीः गाउँ बस्तीमा लुकेर बसेको केटाकेटीहरुको कला प्रतिभालाई खोजी निकालेर यसलाई सबै सामु प्रदर्शन गर्ने उद्देश्य लिएर आइतबार एउटा गैर सरकारी संगठन रुरल एडको आयोजनामा कालचिनी थाना मैदानमा चिल्ड्रेन एक्जिबिशन सम्पन्न भयो। उक्त अवसरमा कालचिनी थानाका सहप्रभारी फजलुल हक लगायत कालचिनी पञ्चायत समितिको सदस्य राजकुमार भुजेल, शिक्षा कर्माध्याक्ष प्रेम लामा, गारोपाड़ा ग्राम पञ्चायत प्रधान बिन्दिया लामा साथै रुरल एडको सचिव सुतपा दत्ता एवम् अन्यान्य सदस्यहरूको उपस्थिति रहेको थियो।
सो चिल्ड्रेन एक्जिबिशनमा चिञ्चुला, राईमाटाङ, भाटपाड़ा, गारोपाड़ा र गंगुटिया चियाबारीका प्रतिभाशाली केटाकेटीहरूले आफूले तयार गरेको आर्ट प्रदर्शन, पारम्परिक खाना पकवान, मूर्तिकला, र हस्तकला सामग्रीको प्रदर्शन गरेको थियो।
रुरल एडको सचिव सुतपा दत्ताले गाउँले केटाकेटीहरूमा धेरै प्रतिभा रहेको र यी प्रतिभाशाली केटाकेटीहरूलाई खोजी निकालेर उनीहरूको हातले तयार पारेको कला कृतिलाई चिल्ड्रेन एक्जिबिशन मार्फत अघि ल्याईएको बताएकी छन्।