कांग्रेसको ‘सागर से पहाड’ खरसाङमा समापन  

मल्लिकाअर्जुन खड्गे र प्रियंका गान्धीबिनै यात्रा आइपुग्यो खरसाङ  

टीआरआई समाचार

खरसाङ: कांग्रेसको ‘भारत जोडो यात्रा’को एउटा पाटा ‘सागर से पहाड’ कांग्रेसका अध्यक्ष मल्लिकाअर्जुन खड्गे र प्रियंका गान्धीबिनै पहाडको प्रमुख स्थल खरसाङमा आइपुग्योl ‘भारत जोडो’ यात्रालाई लिएर लोकसभामा कांग्रेसका नेता रहेका अनि पश्चिम बङ्गाल प्रदेश कांग्रेसका अध्यक्ष अधीरञ्जन चौधरीको नेतृत्वमा खरसाङ आज (२३ जनवरी) दिउँसो करिब साडे दुई बजेतिर आइपुग्योl आज स्वाधीनता सङ्ग्रामका एक मुख्य नायक नेताजी सुवास चन्द्र बोसको जन्मजयन्तीलाई प्रमुखता दिँदै ‘भारत जोडो यात्रा’को पाटा ‘सागर से पहाड’ खरसाङमा आउनु मुख्य उद्देश्य रहेको थियोl

सिलगढीबाट गाडीको लस्करका साथमा ‘भारत जोडो यात्रा’ हिलकार्ट रोड हुँदै गिद्द पहाडस्थित नेताजी इन्स्टिच्युट फर एसियन स्टडिजमा आइपुग्योl हिलकार्ट रोडमा गाडीबाट ओर्लिएर माथि रहेको यस इन्स्टिच्युटमा अधीरञ्जन चौधरी पुगेर नेताजी शालिगमा खडा-माला चडाएर श्रद्धाञ्जली अर्पण गर्नेसाथ यात्रामा पुन: सहभागी भएl यहींदेखि खरसाङ मोटर स्ट्याण्डसम्म ‘भारत बचाउ’को नारा लगाउँदै पदयात्रा शुरु भयोl ‘भारत जोडो यात्रा’ मोटरस्ट्याण्डमा आएपछि त्यहाँ बनाइएको मंचबाट अधीरञ्जन चौधरीले जनसभालाई सम्बोधन गरेl आफ्नो सम्बोधनमा उनले नेताजी सुभाष चन्द्र बोसको स्वाधीनता सङ्ग्राममा रहेको भूमिका बारे ऐतिहासिक वक्तव्य प्रस्तुत गरेl भाजपाको सरकारमा सरकारी सम्पत्तिहरू बिक्री भइरहेको सिलसिलामा उनले भने, ‘भारत लिलामी हुनदिने छैनौंl’ आज देशमा सत्ताको रोटी सेक्नका लागि विभिन्न धर्म र सम्प्रदायहरूलाई लिएर साम्प्रदायिक विरोधहरू शुरु भएको छl भाजपासित कुनै गरिमामय नेता नहुँदा सबै नेताहरूलाई हाइज्याक गर्ने कार्य गरेको उनले बताएl ‘देशका लागि बलिदान दिने इन्दिरा गान्धी र राजीव गान्धीको परिवारबाट राहुल गान्धी हुन्’, उनले भनेl दार्जीलिङ समस्या समाधान गर्न राजीव गान्धीले उठाएको सबैलाई थाहा भएको उनले बताएl भाजपाले सबैलाई दिग्भ्रमित परिरहेको उनको भनाइ थियोl उनको भनाइअनुसार भाजपाले कहिले गोर्खाल्याण्ड दिने भनेर कहिले कामतापुर राज्यको चर्चा गरेर दिग्भ्रमित पारिरहेको छl समग्र पहाडलाई इंगित गर्दै उनले भने, ‘आज हामी वीरको भूमिमा आएका छौंl’ आज उनले ‘सागर से पहाड’ समापन भएको घोषणा गरेl

यस यात्रामा मल्लिकाअर्जुन खड्गे र प्रियंका गान्धी आउने अघिबाट प्रचार गरिएको थियोl तर उनी दुवै किन आएनन् यसको स्पष्टिकरण भने पार्टीको पक्षबाट बुझ्न सकिएनl नेताजी इन्स्टिच्युट फर एसियन स्टडिज रहेको घर भारतीय स्वाधीनता सङ्ग्रामको इतिहासमा धेरै महत्त्वपूर्ण रहेको छl सन् १९३६ मा नेताजीलाई तत्कालिन अंग्रेज शासनले करिब ६ महिना नजरबन्द गरेर राखेको थियोl यो नेताजीका दाज्यु शरतचन्द्र बोसले अंग्रेजबाट किनेका थिएl सन् २००१ भन्दा अघि यो घर अति नै जीर्ण अवस्थामा रहेको थियोl नेताजीका परिवारले संग्रहालय बनाउन सरकारलाई दिएपछि तत्कालिन वामफ्रन्ट सरकारले यसलाई जीर्णोद्धार गरेर सन् २००१ मा नेताजी इन्स्टिच्युट फर एसियन स्टडिजमा परिणत गर्योl  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement