नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा एक पक्राउ

राजगञ्ज: राजगञ्ज थाना पुलिसले एकजना व्यक्तिलाई नोकरी लगाइदिने प्रलोभन देखाएर लाखौँ रुपियाँ ठगेको आरोपमा बाघडुग्राबाट पक्राउ गरेको छ। पक्राउपछि सो व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति बाघडुग्रा थाना अन्तर्गत भुवनगढीछाट गाउँ निवासी श्यामल बर्मनको रूपमा चिन्हित गरिएको छ। यो घटनाको अझ एकजना आरोपी राजगञ्ज निवासी करिमूल हकले सुइँकुच्चा ठोकेको बताइएको छ। प्राप्त जानकारी अनुसार श्यामल बर्मन र करिमूल हकले २०२०-मा राजगञ्जको कुकुरजान ग्राम पञ्चायतको नेवारीपाडा निवासी साज्जित हुसेनलाई ब्लकको डाटा एन्ट्री अपरेटरको पदमा नोकरी लगाइदिने प्रलोभन देखाएर २ लाख ४० हजार रुपियाँ लिएका थिए। यस्तै प्रकारले भाङ्गामाली निवासी नूर आलमबाट पनि ३ लाख ५० हजार रुपियाँ लिएको आरोप रहेको छ। रुपियाँ लिएको धेरै दिन बितिसक्दा पनि नोकरीको व्यवस्था नगरेपछि रुपियाँ फिर्ता माग्दा ती दुईले विभिन्न बहाना गर्ने गरेको बताइएको छ। गत वर्ष सज्जित हुसेनलाई ५० हजार र अन्य एकजना युवकलाई २ लाख रुपियाँको चेक दिए तापनि त्यो बाउन्स भएपछि घटनाबारे राजगञ्ज थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा राजगञ्ज थानाका एसआई मनसुरूद्दिनको नेतृत्वमा अभियान चलाएर गत राति श्यामल बर्मनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिले रुपियाँ लिएको कुरा अस्वीकार गरेका छन्। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका व्यक्तिलाई अदालतमा पेश गरेपछि पुलिस हिरासतमा लिएर घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको हुनसक्ने आशंकाम सोधखोज गरिने पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement