खरसाङ: नेताजी सुवासचन्द्र बोसको १२६औं जन्म जयन्ती खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियममा सम्पन्न भएको छ। गत वर्षभन्दा केही सानो रूपमा पालन गरिएको नेताजी जयन्तीमा मुख्य रूपमा खरसाङ महकुमा शासक साथै नेताजी म्युजियमको चेयरम्यान आईएएस एजाज अहमद उपस्थित रहेका थिए। खरसाङ महकुमा शासक आईएएस एजाज अहमदको बाहुलीबाट म्युजियम अघि राष्ट्रीय झण्डा उत्तोलन गरियो। उनकै बाहुलीबाट नेताजीको सालिगमा खदार्पणसहित मूलमाला र फूल अर्पण चढाएर श्रध्दाञ्जली अर्पण गरेका थिए। त्यसरी नै उपस्थित सबैले नेताजीको सालिगमा खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरेका थिए। यसपाली विशेष गरेर कंग्रेस पार्टीको भारत जोडो यात्रा खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियमबाट नै शुरु गरिने भएको कारणले गर्दा यसपाली म्युजियमको तर्फबाट सानो कार्यक्रम मात्र गरिएको छ। बिहान 9 बजेदेखि ९.३० बजेसम्म कार्यक्रम समाप्त गरिएको छ। उल्लेख्य छ खरसाङको गिध्द पहाड़स्थित नेताजी म्युजियम पहिला सन् १९२२ तिर सुवासचन्द्र बोसको दाजु शरदचन्द्र बोसले पारिवारिक छुट्टीको लागि घर किनेको र नेताजी सुवासचन्द्र बोस यहाँ आएर बस्ने गरेका थिए भने ब्रिटिश सरकारले नेताजी सुवासचन्द्र बोसलाई सन् १९३६ सालमा छ महिनासम्म यसै घरमा नजरबन्द गरेर राखेका थिए। नेताजीको यही घरलाई सन् १९९६ सालदेखि सरकारले म्युजियमको रूपमा सञ्चालन गर्दै आएका छन् जहाँ नेताजीसित सम्बन्धित यादहरू यहाँ संग्रहित गरिएको छ। नेताजीको १२६औं जन्म जयन्ती विषयमा खरसाङको महकुमा शासक आईएएस एजाज अहमदले पत्रकारहरूसित कुराकानी गर्दै यहाँ हरेक साल नेताजीको जन्म जयन्ती पालन गरिने र यसपाली पनि जन्म जयन्ती पालन गरिएको जानकारी गराएका छन्। यसपाली कंग्रेसको भारत जोडो यात्रा यहाँबाट नै शुरु गरिने विषयमा सोधिएको प्रश्नको उत्तर महकुमा शासक आईएएस एजाज अहमदले यो नेताजी म्युजियम भएकोले भारतभरिको केही आएर यहाँ परिदर्शन गर्न सक्नेछन् तर यस म्यूजियम परिसरमा कुनै राजनैतिक कार्यक्रम र क्रियाकलाप र गर्न नसकिने तर बाहिरपट्टि आएर गर्न सकिने बताएका छन्।

त्यसरी नै नेताजी जयन्ती अायोजना विषयमा नेताजी म्युजियमको ईन्चार्च गणेश प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै यसपाली कंग्रेसको भारत जोडो यात्रा यहाँबाट नै शुरु हुने जानकारी भएकोले यसपाली हामीले बेसी भीड़ नगरेर बिहान छिट्टै सानो कार्यक्रम आयोजना गरेको बताएका छन्। उनले यसपाली बेसी कोही नबोलाई बिहान ९ बजेदेखि ९.३० बजेभित्र कार्यक्रम समाप्त गरिएको जानकारी गराएका छन्।