गान्तोक: जीटीभीमा संचालन भएको सङ्गीत रियालिटी शो सन् २०२२-२३ को जी सारेगमप लिटल च्याम्पमा सिक्किमकी जेट्सन डोना लामा विजयी भएकी छिन्l यस रियालिटी शोमा दोस्रो विजेता हर्ष सिकन्दर भएका छन् भने मुम्बईकी ध्यानेश्वरी गड्गे तेस्रो उप विजेता भएका छिन्l जेट्सन डोना लामालाई १० लाख रुपियाँको चेक पुरस्कार र विजेताको ट्रफी प्रदान गरियोl दोस्रो उपविजेता हर्ष सिकन्दरलाई ५ लाख रुपियाँको चेकसहित ट्रफी प्रदान गरिएको छ भने ध्यानेश्वरी गड्गेलाई ३ लाख रुपियाँको चेक पुरस्कार प्रदान गरियोl आइतबार मुम्बईमा भएको ब्लक ब्लास्टर ग्राण्ड फिनालेमा बलिवुडक लोकप्रिय नायक ज्याकी श्रफ, चलचित्रका निर्देशक अनुराग कश्यप विशेष रुपमा उपस्थित थिएl तीनजना अन्य फाइनलिस्टहरू रफा याश्मिन, अथर्भ बक्सी र अतानु मिश्र थिएl जेटसन डोना लामालगयात फिनालेमा पुगेका बाल गायकहरूले शुरुदेखि नै जजहरू अनु मलिक, शंकर महादेवन, नीति मोहन साथै ग्राण्ड ज्युरीलाई आफ्नो गायन प्रतिभाद्वारा आकर्षित पार्दै आएका थिएl सिक्किममा विशेष रुपमा मुख्यमन्त्री पीएस गोलेका राजनैतिक सचिव, सिक्किम क्रोनिकलका पत्रकार निर्मल मगर, जेट्सनकी बाबु-आमा साथै अन्य शुभचिन्तकहरू जेटसनको मनोबल बढाउन उपस्थित थिएl