गान्तोक। दार्जिलिङ निवासी पवित्रा लामालाई म देह रातो रङ्गिन्छु कविता संग्रह पुस्तकका निम्ति २५औं डा. शोभाकान्ति थेगिम लेप्चा स्मृति पुरस्कार २०२२ प्रदान गरिने भएको छ। डा. शोभा कान्ति थेगिम लेप्चा मेमोरियल ट्रस्टका अध्यक्ष डुप छिरिङ लेप्चाको अध्यक्षतामा गत ३१ मईका दिन बसेको ट्रष्टको सभामा ट्रष्टले नियुक्त गरेको दुई स्तरीय निर्णायक मण्डलीको सिफारिस अन्तर्गत उनलाई यस वर्षको पुरस्कार प्रदान गरिने स्वीकृति गरिएको बताइएको छ। उक्त पुरस्कार प्रत्येक वर्ष ४ जुलाई डा. शोभाकान्ति थेगिमको जन्म जयन्तीका दिन नगद राशि ५० हजार एक रुपियाँ, ताम्र पत्र र प्रमाण पत्र सहित प्रदान गरिनेछ। सभामा गुठीले उक्त पुरस्कार समारोहमा नाटक, गीत, साहित्य, संगीत अभिनय अनि चलचित्रको क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेका गान्तोक निवासी सिक्किमका बहुप्रतिभाशाली व्यक्तित्व चुनिलाल घिमिरेलाई सम्मान तथा अभिनन्दन गरिने बताइएको छ। पुरस्कार घोषणाबाट हर्षित बन्दै कवि लामाले भनिन्, “मलाई लाग्छ, पुरस्कारकै निम्ति कुनै पनि सर्जकले सृजना गर्दैन अनि गर्न पनि हुँदैन। तथापि कुनै सम्मान वा पुरस्कार पाउनु भनेको कृति अनि कर्मको सम्मान हुनु हो। यो वास्तवमा साहित्यको सम्मान हो। मेरो लागि पाठक/श्रोता/दर्शकको माया अझ महत्त्वपूर्ण हो। डा. शोभाकान्ति थेगिम स्वयं पनि एक कर्मठ सामाजिक, साहित्यिक, सांस्कृतिक कर्मी थिइन्। नेपाली साहित्य विशेष गरी समालोचना विधामा उनको योगदान अतुलनीय रहेको छ। यिनै ओजस्वी व्यक्तिसित सम्बन्धित रहेको हुनाले यस पुरस्कारको महत्त्व अझ विशिष्ट रहेको छ। सम्बन्धित सम्पूर्ण ट्रस्टीहरू लगायत जुरीमा सहभागिता प्रदान गर्नुहुने सम्पूर्णमा मेरो हार्दिक आभार व्यक्त गर्दछु ”।











