एसपीएससीमाथि लापरवाहीको आरोप लगाए एसडीएफएले

गान्तोक: :सिक्किम लोक सेवा आयोग (एसपीएससी) को वर्तमान कमिटी भंग गरेर नयाँ कमिटी गठन गर्नु पर्ने माग सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको विद्यार्थी मोर्चाले गरेको छ। एसडीएफ विद्यार्थी मोर्चाले एसपीएससी आकांक्षीहरूलाई पनि अगाडि आएर न्यायको निम्ति आवाज उठाउन आह्वान पनि गरेको छ। एसडीएफ विद्यार्थी मोर्चाको उत्तर-पूर्व प्रभारी रिक्जिङ नर्बु दोर्जी भोटियाले एसपीएससीमाथि लापरवाहीको आरोप लगाएका छन्। उनले एसपीएससी परीक्षा लगभग छ वर्षको लामो अन्तरालपछि आयोजना भएकाले धेरै आकांक्षी युवाहरू यसपाली अन्तिमपल्ट परीक्षामा बसेका थिए भनी बताए। तर, एसपीएससीको लापरवाहीका कारण आठ हजार एसपीएससी आकांक्षी युवाहरूमाथि ठूलो अन्याय भएको उनले बताए। उनले गत १६ जनवरीका दिन आयोजित परीक्षाहरूमा देखा परेका कमी कमजोरीहरूका लागि एसपीएससीका वर्तमान पदाधिकारीहरू पूर्ण रूपमा जिम्मेवार रहेको बताए। यस कारण आयोगको वर्तमान बडीलाई विगठन गरि नयाँ बडी गठन गर्नुपर्छ भन्ने उनले माग राखे। उनले यस सम्बन्धमा जाँच शुरू गरेर दोषीहरू विरूद्ध कड़ा कारबाही गरिनु पर्ने पनि माग राखे। यसैगरी, उनले १६ जनवरीका दिन आयोजित परीक्षा रद्द गरेर पुनः परीक्षा आयोजन गरिनु पर्ने माग राखे। उनले परीक्षा दिन युवाहरू धेरै खर्च गरेर आएको हुनाले परीक्षामा बस्ने सबै युवाहरूलाई एसपीएससीले टीएडीए प्रदान गरिनु पर्छ भनी बताए।
उनले एसपीएससी आकांक्षी युवाहरू वर्तमान सरकारबाट प्रताड़ित बन्ने र परिवारका सदस्यहरू भिक्टिमाइज बन्ने सम्भावनाका कारण अगाडि आएर बोल्न नसकिरहेको दाबी गरे। उनले हालैमा अरुणाचल प्रदेशमा स्थानीय लोक सेवा आयोगको परीक्षामा भएको धाँधली विरूद्ध युवाहरू सड़कमा ओर्लिएपछि आज सरकार सीबीआई जाँच गराउन बाध्य बनेको अवगत गराए।उनले राज्यका शिक्षित युवाहरू र अभिभावकहरूलाई पनि यस सन्दर्भमा अडान लिएर अगाडि आउन आह्वान गरे। एसडीएफ पार्टीले यो मुद्दालाई छाड्ने छैन भन्दै यसका लागि आफुहरू सड़कमा उत्रिन पनि तयार रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement